नेपाल शेर्पा संघको संघीय कार्यसमितिको बैठक आगामी भदौ १२ र १३ गते संघीय कार्यालयमा हुने भएको छ । संघले केन्द्रीय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममार्फत शेर्पा समुदायको समग्र अवस्था, संघको संगठनात्मक सुदृढीकरण, विभागीय गतिविधि, आर्थिक व्यवस्थापन, भाषा–शिक्षा, पर्यटन, प्रवास, युवा तथा महिला सहभागितालगायत विविध विषयमा विस्तृत छलफल हुने अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले जानकारी दिए ।

संघीय कार्यसमितिले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार पहिलो दिन औपचारिक उद्घाटनपछि पोर्टफोलियो व्यवस्थापन तथा विभागीय जिम्मेवारीका विषयमा प्रस्तुतीकरण हुनेछ । त्यसपछि शेर्पा समुदायको जनसंख्या, मातृभाषा, शिक्षा तथा राज्य व्यवस्थामा शेर्पाको अवस्थाबारे छलफल हुने तयारी छ । संघ सञ्चालनमा आर्थिक व्यवस्थापन तथा संघको वित्तीय पक्षलाई पनि विशेष प्राथमिकता दिइएको महासचिव लाक्पा जी शेर्पाले जानकारी दिए ।
कार्यक्रमको तेस्रो सत्रमा बौद्ध धर्म, संघ र यसको भूमिका तथा शेर्पा समुदायको अवस्था र संघको महत्व विषयमा छलफल हुने कार्यतालिका छ । दोस्रो चरणमा संघअन्तर्गतका विभिन्न विभाग तथा संस्थागत गतिविधिबारे विस्तृत प्रस्तुतीकरण गरिने भएको छ । काेशी प्रदेशकाे गतिविधि, बागमती प्रदेशकाे गतिविधि, विशेष प्रदेश समितिकाे गतिविधि, पत्रकारिता तथा सञ्चारको अवस्था, युवा संघ, महिला संघ, कलाकार संघ तथा विद्यार्थी संघका गतिविधि बारे सम्बन्धित प्रतिनिधिले जानकारी प्रस्तुत गर्नेछन् ।

त्यसैगरी हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, पर्यटन तथा पर्वतारोहण विभाग, सामाजिक सेवा विभाग, प्रवास तथा विदेश विभाग, नीति–प्रशिक्षण तथा संगठन विभाग, शिक्षा–स्वास्थ्य–भाषा तथा राज्य व्यवस्था विभाग, राजनीतिक तथा संघसंस्था समन्वय विभाग र आर्थिक विभागका गतिविधि तथा आगामी कार्ययोजनाबारे समेत प्रस्तुतीकरण गर्ने तयारी भइरहेको जनाएको छ । दोस्रो दिन भने नेपाल शेर्पा संघका विगतका गतिविधि, वर्तमान भूमिका र आगामी कार्यदिशाबारे प्रस्तुतीकरण हुने भएको छ । बैठकको औपचारिक सत्रमा आर्थिक र सांगठानिक प्रतिवेदन पेश गर्ने तय भएको छ ।
नेपाल शेर्पा संघको सातौँ महाधिवेशनबाट लाक्पा ठिलेन शेर्पाको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । बैठकमा भने पदेन सदस्यहरुलाई समेत आमन्त्रण गरिएको छ । यसर्थ पनि बैठकलाई विशेष रुपमा हेरिएको अध्यक्ष शेर्पाको भनाइ छ ।
केन्द्रीय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रमलाई संघको नयाँ नेतृत्वले संगठनलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । कार्यक्रमले शेर्पा समुदायका समसामयिक समस्या, भाषा तथा संस्कृतिको संरक्षण, शिक्षा, सामाजिक सेवा, पर्यटन, युवा तथा महिला सशक्तीकरण र राज्यका विभिन्न तहमा समुदायको प्रभावकारी सहभागिताका विषयलाई संस्थागत छलफलको आधार बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया