रास्वपाले सांसदको गतिविधि निगरानी गर्न बनायो गुगल फर्म


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको संसद् गतिविधिलाई व्यवस्थित र जवाफदेही बनाउन गुगल फर्म तयार गरेको छ ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालका अनुसार सांसदहरू संसद् बैठकमा अनुपस्थित हुँदा त्यसको कारणसहित प्रमाण गुगल फर्ममार्फत बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्धारित समयभन्दा आधा घण्टाभन्दा ढिलो बैठकमा उपस्थित भएमा पनि सांसदले त्यसको विवरण फर्ममा राख्नुपर्नेछ । त्यस्तै, बैठकमा उपस्थित भएर बीचमै बाहिरिनु परेमा वा केही समयका लागि बाहिर गएर पुनः बैठकमा फर्किनु परेमा पनि विवरण भर्नुपर्ने व्यवस्था गरिएको छ ।

रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार फर्ममा सांसदहरूले आफ्नो नाम, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, बैठकमा अनुपस्थित हुनुको कारण तथा बैठकबीचमै छाड्नु परेको भए त्यसको कारण खुलाउनुपर्नेछ ।

सांसद बिरामी भएको अवस्थामा उपचार भइरहेको स्थानको विवरणसमेत उपलब्ध गराउनुपर्नेछ । निर्वाचन क्षेत्रमा जानुपर्ने अवस्थामा जाने र फर्कने मितिसहितको तालिका बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, औपचारिक निमन्त्रणा वा विदेशमा हुने कार्यक्रममा सहभागी हुन जाने सांसदहरूले आयोजक संस्था, कार्यक्रमको विवरण तथा सम्बन्धित निकायबाट प्राप्त अनुमति पत्रसमेत पेश गर्नुपर्नेछ ।

रास्वपाका नेताहरूका अनुसार यो प्रणालीको मुख्य उद्देश्य सांसदहरूको संसद् उपस्थितिलाई केवल हाजिरीको विषयका रूपमा नभई जिम्मेवारी र जवाफदेहितासँग जोड्नु हो ।

यो व्यवस्था प्रतिनिधिसभाको पछिल्लो घटनाक्रमपछि अघि बढाइएको हो । गत २६ साउनमा प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुग्दा बैठक नै स्थगित भएको थियो । गणपूरक संख्या नपुगेपछि खानीसम्बन्धी विधेयकमाथिको प्रक्रिया अघि बढ्न सकेन ।

प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् । सत्ता पक्षको ठूलो दल भएकाले संसद्को कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन रास्वपाका सांसदहरूको उपस्थितिलाई महत्वपूर्ण मानिएको छ ।

त्यसैले रास्वपाले अब सांसदहरू संसद् बैठकमा आए वा आएनन् भन्ने मात्र नभई अनुपस्थित हुनुको कारण, बैठकमा ढिलो पुग्नुको अवस्था, बीचमै बाहिरिनुको कारण तथा विदेश भ्रमणसम्मका विवरण एकीकृत रूपमा राख्ने तयारी गरेको हो ।

रास्वपाले सुरु गरेको यो प्रणालीले सांसदहरूलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ । तर यसको प्रभावकारिता भने आगामी संसद् बैठकहरूमा सांसदहरूको उपस्थिति र सदनको कामकारबाहीबाट देखिनेछ ।