लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।
८३ सदस्यीय प्रदेश सभामा सरकारलाई बहुमत सिद्ध गर्न ४२ मत आवश्यक थियो । मतदान प्रक्रियामा ७१ जना प्रदेश सभा सदस्य सहभागी भएका थिए । बहुमतका लागि आवश्यक मतभन्दा तीन मत बढी प्राप्त गरेपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री आचार्यको पक्षमा नेकपा एमालेका २९, नेकपाका १२ मध्ये ११, जनता समाजवादी पार्टी नेपालका ५ मध्ये ४ र राष्ट्रिय जनमोर्चाका एक सांसदले मतदान गरेका थिए । कांग्रेस र जनमत पार्टी विपक्षमा उभिएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू तटस्थ बसेका छन् ।
प्रदेश सभामा आठ जना सांसद अनुपस्थित भएका थिए भने तीन जना तटस्थ बसेका थिए । अनुपस्थित हुनेमा अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारू, माया पुन र सरोज थापा रहेका छन् ।
मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिलाउन जनता समाजवादी पार्टी नेपालका सांसदहरूको समर्थन निर्णायक बनेको छ । जसपा नेपाललाई सरकारबाट बाहिरिन पार्टी केन्द्रले निर्देशन दिए पनि प्रदेश संसदीय दलले सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि आचार्य नेतृत्वको सरकार जोगिएको हो ।
जसपा नेपालका चार सांसदले विश्वासको मत नदिएको भए मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत नपुग्ने अवस्था थियो । यससँगै एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई एमालेसँगै नेकपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन कायम रहेको छ।

प्रतिक्रिया