बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्।
प्रदेशसभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।नेकपा एमालेले गत ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था थियो। तर, विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि उनले पदबाटै राजीनामा दिएका हुन्।
राजीनामा घोषणा गर्नुअघि बानियाँले आफ्नो करिब एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख काम तथा उपलब्धिबारे २८ बुँदामा प्रगति विवरण प्रस्तुत गरेका थिए।
विश्वासको मतमा बानियाँलाई नेपाली कांग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीको मात्र समर्थन रहने अवस्था थियो। नेकपा र नेकपा एमाले विपक्षमा रहने तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी तटस्थ बस्ने तयारीमा थिए।बानियाँ २० साउन २०८२ मा बागमतीको मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसको एक सातापछि २७ साउनमा उनले प्रदेशसभाका ६३ सदस्यको समर्थनमा विश्वासको मत प्राप्त गरेका थिए। उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्।
बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। नेकपा र नेकपा एमालेबीचको सहमतिअनुसार एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने तयारी गरेको छ।
तर, एमालेभित्रै संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले नयाँ मुख्यमन्त्रीको नाम टुंगो लाग्न भने बाँकी छ। १६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित भक्तपुरका किरण थापा मगरलाई संसदीय दलको नेता बनाउन माग गर्दै २७ साउनमा अविश्वास प्रस्ताव दर्ता भएको थियो।
हाल १०४ सदस्यीय रहेको बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।

प्रतिक्रिया