बागमती र लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


सत्ता समीकरणमा आएको फेरबदलपछि बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने भएका हुन्।

बागमती प्रदेशमा सरकारमा सहभागी नेकपा एमालेले गत ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका हुन्। प्रदेश सभामा नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ। नेकपाका २६ र एमालेका २५ सिट छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। सरकार गठन तथा टिकाउन ११० सदस्यीय प्रदेश सभामा ५३ सांसदको समर्थन आवश्यक पर्छ।

एमालेको समर्थन फिर्तापछि मुख्यमन्त्री बानियाँलाई सरकार जोगाउन साना दल तथा अन्य दलका सांसदको समर्थन जुटाउनुपर्ने अवस्था छ। उनले विश्वासको मत प्राप्त गर्न आवश्यक समर्थनका लागि विभिन्न दलसँग छलफल अघि बढाएका छन्।

यता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि आजै विश्वासको मत लिँदैछन्। प्रदेश सभा सचिवालयले दिउँसो १ बजे बस्ने आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूचीमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने विषय समावेश गरेको छ।

कार्यसूचीअनुसार बैठकको सुरुवातमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यासहित विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नेछन्। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले छलफल गरेपछि उठेका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्रीले जवाफ दिनेछन्। त्यसपछि सभामुखले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्। ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४२ सांसदको समर्थन आवश्यक पर्छ।

मुख्यमन्त्री आचार्यले आवश्यक बहुमत जुटाउन सत्ता पक्षसँगै साना दलहरूको समर्थन खोजिरहेका छन्। आइतबार राति नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, नेकपाका प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’ तथा पूर्वमुख्यमन्त्री एवं संसदीय दलका नेता जोखबहादुर महरालगायत नेताहरूबीच छलफल भएको थियो।

छलफलमा साना दलको समर्थन जुटाउने तथा सरकार सञ्चालनको रणनीति बनाउने विषयमा मुख्यमन्त्री आचार्यलाई निर्देशन दिइएको बताइएको छ।

यसरी आज एउटै दिन बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत सामना गर्न लागेकाले दुवै प्रदेशमा सत्ता समीकरणको शक्ति परीक्षण हुँदैछ। दुवै मुख्यमन्त्रीका लागि आवश्यक बहुमत जुटाउनु सरकारको निरन्तरतासँगै प्रदेशको आगामी राजनीतिक समीकरण निर्धारण गर्ने महत्वपूर्ण आधार बन्नेछ।