ढुक्कसँग लगानी गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आह्वान


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालका विभिन्न उत्पादनशील क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

चीनको ग्वाङझाउमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने उद्योगहरूमा लगानी गर्न आह्वान गरेका हुन्।

सरकारले देशमै रोजगारी सिर्जना गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले तीव्र गतिमा नीतिगत तथा कानुनी सुधार गरिरहेको अर्थमन्त्रीले स्पष्ट पारे। बजेटमार्फत २७ वटा नयाँ कानुनी ऐन ल्याइएको र राजस्व प्रणालीमा सुधार थालिएको जानकारी दिँदै उनले आर्थिक सुधारको पहिलो वर्ष सुरुआत भएको र आगामी वर्षहरूमा यसको प्रत्यक्ष प्रतिफल जनताले पाउने बताए।

बाह्य लगानीका स्रोतहरू चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यतिबेला प्रवासी नेपालीहरूको पुँजी, ज्ञान र सीप नेपालका लागि निकै महत्त्वपूर्ण रहेको धारणा राखे। डायस्पोराको लगानी आकर्षित गर्न धितोपत्र बाँडफाँड तथा निष्काशन नियमावली संशोधन गरी नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने सेयर हिस्सा ८५ प्रतिशत पुर्‍याइएको उनले जानकारी दिए।

साथै, सरकारले रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन गर्न आवश्यक सीप र ज्ञान भएका गैरआवासीय नेपालीलाई सहभागिताका लागि आह्वानसमेत गरेको छ।