गृहमन्त्रीलाई सांसद सुनारको जवाफ– ‘दोषीलाई काखी च्यापेर नहिँड्नुस्’


गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि प्रमाणित नहुँदै गम्भीर आरोप लगाउन नहुने बताएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले दोषीलाई संरक्षण नगर्न चेतावनी दिएका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा आईजीपी कार्कीमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेको भन्दै सांसद सुनारले उनलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन माग गरेका थिए। त्यसपछि कार्कीमाथि लागेको आरोप र सुनारको मागलाई लिएर राजनीतिक तथा सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस भइरहेको छ।

गृहमन्त्री गुरुङले शुक्रबार आईजीपी कार्कीलाई साथमै राखेर कसैले आरोप लगाउँदैमा उनलाई भ्रष्टाचारी भन्न नमिल्ने बताएका थिए। उनले वर्तमान प्रहरी नेतृत्वले सरकारको चाहनाअनुसार काम गरिरहेको भन्दै कार्कीको प्रशंसासमेत गरेका थिए। साथै, प्रमाणित नहुँदै सांसदहरूले गम्भीर आरोप लगाउन नहुने बताएका थिए।

गृहमन्त्रीको भनाइपछि सांसद सुनारले सामाजिक सञ्जालमार्फत आफ्नो अडानको बचाउ गरेका छन्। उनले आफूले सार्वजनिक लेखा समितिमा राखेको धारणा सही रहेको दाबी गर्दै उजुरी परेपछि अनुसन्धान र आवश्यक कारबाही अघि बढाउनुपर्ने बताएका छन्। सुनारले लेखेका छन्, ‘समितिले स्पष्ट भनेको छ १५ दिनभित्र सबै कागज पेस गर्न । आवश्यक छानबिन हुन बाँकी छ । कारबाही जारी छ । कोही कसैले पनि आरोपितलाई काखी च्यापेर, केही नभएजसरी अनुसन्धानको क्रममा रहेका व्यक्ति र मुद्दाबारे सिंहदरबारभित्र न्यायाधीश बनेर फैसला गर्दै हिँड्ने हैन।’ उनले भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई बर्दी लगाएर संसदीय समितिहरूमा गएर प्रवचन दिने छुट नभएको टिप्पणीसमेत गरेका छन्।‘

भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन । भाषण नै गर्ने रहर भए बर्दी खोलेर चुनाव लड्न आउने,’ सुनारले भनेका छन्।सांसद सुनारले आईजीपी कार्कीमाथि थप आरोप लगाउँदै प्रहरीका तल्लो तहका कर्मचारीको अवस्थाबारे प्रश्न उठाएका छन्। उनले प्रहरीका सिपाही र हवल्दारले न्यून सुविधा र कठिन परिस्थितिमा लामो समय ड्युटी गर्नुपरेको भन्दै उनीहरूको नाममा आएको बजेटको सदुपयोग हुनुपर्ने बताएका छन्।

उनले आफू सांसद मात्र नभई भ्रष्टाचारको विषयमा आवश्यक परे जीवन दाउमा राख्नसमेत तयार रहेको दाबी गरेका छन्।सुनारले आफूहरूले कसैमाथि कपोकल्पित आरोप नलगाएको भन्दै प्रहरी र सशस्त्र प्रहरीविरुद्ध सार्वजनिक लेखा समितिमा परेका उजुरीमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

‘हामीले कसैमाथि कपोकल्पित आरोप लगाएको हैन, प्रहरी र सशस्त्र प्रहरीविरुद्ध समितिमा परेको उजुरी छानबिन गरौँ भनेको हो,’ उनले लेखेका छन्। सुनारका अनुसार समितिमा अनियमितताको दाबीसहित उजुरी परेपछि सांसदको हैसियतले आवश्यक प्रश्न गर्नु आफ्नो जिम्मेवारी हो। उनले आगामी दिनमा पनि यस्ता विषयमा प्रश्न उठाइरहने बताएका छन्।

उनले भ्रष्टाचारसम्बन्धी उजुरीमाथि निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिँदै आफूहरू स्वतन्त्र, निष्पक्ष र व्यावसायिक प्रहरीको पक्षमा रहेको बताएका छन्।

यससँगै सुनारले सार्वजनिक लेखा समितिमा परेको भ्रष्टाचारसम्बन्धी उजुरीसमेत सार्वजनिक गरेका छन्। आईजीपी कार्कीमाथि लगाइएको आरोप प्रमाणित हुने वा नहुने विषय भने सम्बन्धित निकायबाट हुने अनुसन्धान र छानबिनपछि मात्रै टुंगो लाग्नेछ।