वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई भेट्न पुगेका उनका वकिल, श्रीमती तथा पत्रकार सम्बद्ध संघ–संगठनका प्रतिनिधिलाई प्रहरीले भेट्न दिएको छैन।
श्रेष्ठलाई भेट्न अधिवक्ता टिकाराम भट्टराई लगायतका कानुन व्यवसायी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए। तर प्रहरीले अनुसन्धानका क्रममा भेटघाट गर्न नमिल्ने भन्दै उनीहरूलाई फर्काएको हो।
त्यसैगरी प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, महासचिव मनोज घर्ती तथा नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेललगायत पत्रकारका प्रतिनिधिहरू पनि श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका थिए। उनीहरूलाई समेत प्रहरीले भेट्न नदिएको प्रेस सेन्टरका महासचिव घर्तीले बताए।
‘प्रहरीले किशोर श्रेष्ठका वकिल र श्रीमतीलाई समेत भेट्न दिएको छैन, हामीलाई पनि भेट्न दिएन,’ घर्तीले भने, ‘प्रेस स्वतन्त्रताको सम्मान गर्न र मानवअधिकारको ख्याल गर्न हामीले आग्रह गरिरहेका छौं।’
घर्तीका अनुसार प्रहरीले श्रेष्ठको निवासबाट उनका परिवारका सदस्यका ल्यापटपसमेत नियन्त्रणमा लिएको छ। पढाइ तथा लेखनका लागि आवश्यक ल्यापटप फिर्ता गर्न आग्रह गर्न आफूहरू प्रहरी परिसर पुगे पनि प्रहरीले त्यसलाई स्वीकार नगरेको उनले बताए।
श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न आज सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरिएको छ।
श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटीलगायतका संस्थाले प्रेस स्वतन्त्रता र मानवअधिकारको सम्मान गर्न माग गरेका छन्। उनीहरूले श्रेष्ठलाई बिनासर्त रिहा गर्नसमेत माग गरेका छन्।
श्रेष्ठ पक्राउ परेपछि प्रहरीले आज बिहान उनको संलग्नता रहेको जनआस्था कार्यालयमा समेत खानतलासी गरेको थियो। उक्त घटनाको विरोधमा नेपाल पत्रकार महासंघले जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शन तथा धर्नासमेत दिएको छ।
पत्रकार श्रेष्ठको पक्राउ, कार्यालयमा भएको खानतलासी तथा उनलाई कानुनी प्रतिनिधि र परिवारसँग भेट्न नदिइएको विषयलाई लिएर पत्रकार सम्बद्ध संघ–संगठनले थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया