बागमती एमालेमा किचलो: संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर विवाद चर्किएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध बुधबार १६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ।

अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालय, हेटौँडामा दर्ता गरिएको हो। प्रस्तावमा १६ सांसदको हस्ताक्षर रहेको भए पनि १८ जनाले नेतृत्व परिवर्तनका पक्षमा सहमति जनाएको दाबी गरिएको थियो। तर, दर्ता गरिएको पत्रमा भने १६ जनाको मात्रै हस्ताक्षर रहेको एक एमाले नेताले जानकारी दिएका छन्।

प्रस्तावमा चितवनबाट निर्वाचित दुई सांसदले समेत हस्ताक्षर गरेका छन्। चितवन–२ (१) बाट निर्वाचित कृष्णप्रसाद सिलवाल र चितवनबाट समानुपातिक सांसद हरिप्रसाद सापकोटाले थपलियाविरुद्धको प्रस्तावमा समर्थन जनाएका हुन्। प्रस्ताव दर्ताका लागि सिलवालको नेतृत्वमा सापकोटा र काभ्रेबाट समानुपातिक निर्वाचित सांसद ज्ञानबहादुर तामाङ संसदीय दलको कार्यालय पुगेका थिए।

अविश्वासको प्रस्तावमा किरण थापा, प्रेमभक्त महर्जन, रघुनाथ महर्जन, भारती पाठक, आनन्दकुमार श्रेष्ठ, जयराम थापा, डा. दिनेशचन्द्र देवकोटा, बिन्दु श्रेष्ठ, भरत केसी, माइली तामाङ, माया कुमारी कार्की, रामेश्वर श्रेष्ठ, सकुन्तला श्रेष्ठ, ज्ञानबहादुर तामाङसहित १६ सांसदले हस्ताक्षर गरेका छन्।

उपसभामुख अप्सरा चापागाईँ र सांसद मधुसूदन पौडेलले समेत नेतृत्व परिवर्तनका लागि सहमति जनाएको किरण थापा निकट एक नेताले दाबी गरेका छन्। तर, दुवै जनाको नाम प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको सूचीमा छैन।

बागमती प्रदेशसभामा एमालेका २५ सांसद छन्। अविश्वासको प्रस्तावमा भएको हस्ताक्षरका आधारमा १६ सांसद थपलियालाई संसदीय दलको नेताबाट हटाउने पक्षमा देखिएका छन् भने थपलियासहित बाँकी सांसद उनको पक्षमा रहेको देखिन्छ।

प्रस्तावमा हस्ताक्षर नगर्नेमा थपलिया, उपसभामुख चापागाईँ र पौडेलसँगै एकालाल श्रेष्ठ, ठुला थामी, बालकुमारी विश्वकर्मा, केशवप्रसाद पोखरेल, सुकुमाया तामाङ र उर्मिला सुनार छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेत निकट मानिने किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने तयारीस्वरूप संसदीय दलको नेतृत्व परिवर्तनको प्रयास अघि बढाइएको एमालेभित्रका नेताहरूको भनाइ छ। त्यसैको कडीका रूपमा थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बताइएको छ।

यसअघि साउन १८ गते सोमबार राति मुख्यमन्त्रीको विषयमा छलफल भइरहेका बेला स्वास्थ्यमा समस्या आएपछि थपलिया अस्पताल भर्ना भएका थिए। करिब एक साता अस्पतालमा उपचारपछि उनी मंगलबार मात्रै डिस्चार्ज भएका थिए।

थपलिया अस्पतालबाट फर्किएलगत्तै एमाले संसदीय दलमा नेतृत्व परिवर्तनको गतिविधि तीव्र भएको हो। अब दर्ता भएको अविश्वासको प्रस्तावमाथि संसदीय दलको विधानअनुसार प्रक्रिया अघि बढ्नेछ। विधानअनुसार प्रस्ताव दर्ता भएको सात दिनभित्र संसदीय दलको बैठक बोलाएर त्यस विषयमा छलफल गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ।