धवलशम्शेर–दुर्गा प्रसाईँको नयाँ पार्टी गठनमै किचलो


राप्रपाबाट अलग्गिएका धवलशम्शेर राणा र अभियन्ता दुर्गा प्रसाईँ मिलेर गठन गर्न लागेको नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ औपचारिक रूपमा दर्ता हुनुअघि नै विवादमा परेको छ। लामो छलफल र तयारीपछि पार्टीको नाम सार्वजनिक गरिए पनि नेतृत्वको वरियता, संगठनात्मक संरचना र चुनावी टिकट वितरणलगायत विषयमा दुई पक्षबीच मतभेद देखिएको स्रोतहरूले बताएका छन्।

राणा अध्यक्ष रहने र प्रसाईँलाई पार्टीको सर्वोच्च नेताको भूमिका दिने सहमतिसहित नयाँ पार्टी गठनको घोषणा गरिएको थियो। यसअघि साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी गरिएको थियो। तर निर्धारित मितिमा पार्टी दर्ता नहुने भएको छ।

प्रसाईँले सामाजिक सञ्जालमार्फत पार्टी गठन तथा दर्ताका लागि आवश्यक तयारी पूरा नभएकाले दर्ताको मिति केही समयका लागि सारिएको जानकारी दिएका छन्। उनका अनुसार पार्टी गठन, संगठनात्मक संरचना तथा अन्य आवश्यक विषयमा अझै आन्तरिक छलफल भइरहेको छ। सम्पूर्ण तयारी पूरा भएपछि नयाँ मिति सार्वजनिक गरिने उनको भनाइ छ।

तर स्रोतहरूले भने तयारी नपुगेको भन्दा पनि दुई पक्षबीच उत्पन्न विवादका कारण पार्टी दर्ता प्रक्रिया पछि धकेलिएको दाबी गरेका छन्। विशेषगरी पार्टीभित्रको वरियता र आगामी निर्वाचनमा उम्मेदवार छनोट तथा टिकट वितरणको विषयमा मतभेद बढेको बताइएको छ।

धवलशम्शेर समूहका एक नेताका अनुसार यसअघि भएको सहमतिअनुसार प्रसाईँले राणापछिको वरियता स्वीकार गर्ने समझदारी थियो। प्रसाईँलाई पार्टीको सर्वोच्च नेताको हैसियत दिइए पनि राणा अध्यक्षका रूपमा पहिलो वरियतामा रहने सहमति भएको उनको दाबी छ। तर पछिल्लो समय प्रसाईँ पक्षबाट पार्टीमा आफूले पहिलो वरियता पाउनुपर्ने प्रस्ताव आएको ती नेताको भनाइ छ।

त्यस्तै, आगामी निर्वाचनपछि प्रसाईँलाई पार्टीको संसदीय दलको नेता बनाउने विषयमा पनि सहमति भएको बताइएको छ। तर अहिले निर्वाचनमा उम्मेदवारलाई टिकट दिँदा प्रसाईँको समेत हस्ताक्षर अनिवार्य हुनुपर्ने नयाँ प्रस्ताव आएको धवलशम्शेर पक्षको दाबी छ।

धवलशम्शेर पक्षका नेताले नयाँ–नयाँ शर्त थपिँदै गए पार्टी एकताको प्रक्रियामै असर पर्न सक्ने चेतावनीसमेत दिएका छन्।

यता, प्रसाईँ पक्षले भने दुई नेताबीचको एकता प्रक्रियामा कुनै समस्या नरहेको दाबी गरेको छ। प्रसाईँ पक्षका नेता माधव निर्दोषले विवादको चर्चा हल्ला मात्रै भएको भन्दै पार्टी गठनको प्रक्रिया निरन्तर अघि बढिरहेको बताएका छन्। उनका अनुसार कार्यदलको बैठकसमेत नियमित रूपमा भइरहेको छ।

पार्टी दर्ताको पूर्वनिर्धारित मिति सर्नुको कारणबारे सोध्दा निर्दोषले भने साउन २८ गतेको साइत उपयुक्त नरहेको ज्योतिषीहरूले सुझाव दिएपछि दर्ता प्रक्रिया सारिएको बताएका छन्।

यसरी एकातर्फ दुवै पक्षले पार्टी एकता प्रक्रिया जारी रहेको बताइरहेका छन् भने अर्कोतर्फ नेतृत्वको वरियता र चुनावी अधिकारसम्बन्धी विषयमा देखिएको मतभेदले नयाँ पार्टीको भविष्यबारे प्रश्न उठेको छ। अब आन्तरिक विवाद कसरी समाधान हुन्छ र ‘जय नेपाल पार्टी’ कहिले निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता हुन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।