पाकिस्तानको ब्रोडपिकमा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली पर्वतारोही किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको पार्थिव शरीर मंगलबार नेपाल ल्याइँदैछ।
उनिहरुको पार्थिव शरीर Qatar Airways को QR-0646 उडानमार्फत दोहाबाट काठमाडौं ल्याउन लागिएको प्रतिनिधि सभा सदस्य एवं चर्चित आरोही मिङमा डेभिड शेर्पाले जानकारी दिए । निर्धारित तालिकाअनुसार उक्त विमान बिहान ९ः२० बजे दोहाबाट प्रस्थान गरी अपराह्न ४ः४५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गरेपछि तीनै जनाको पार्थिव शरीर नेपाल पर्वतारोहण संघ (NMA) को कार्यालयमा लगिने जनाइएको छ।
गत जुलाई ३१ मा पाकिस्तानको कराकोरम क्षेत्रमा पर्ने विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिकमा गएको हिमपहिरोमा १० जना पर्वतारोहीको मृत्यु भएको थियो। मृतकमध्ये नेपालका ६ जना पर्वतारोही थिए। उनीहरूमा चर्चित पर्वतारोही निर्मल ‘निम्स’ पुर्जा, किलि पेम्बा ‘किलु’ शेर्पा, निमा शेर्पा, ग्यालु शेर्पा, पुरबहादुर ‘युकता’ गुरुङ र ङवाङ थिन्दु शेर्पा थिए।
ब्रोडपिकमा हिमपहिरो गएपछि खराब मौसम, अत्यधिक उचाइ र जोखिमपूर्ण भूगोलका कारण शव उद्धार कार्यसमेत निकै चुनौतीपूर्ण बनेको थियो। उद्धार टोलीले चरणबद्ध रूपमा शवहरूलाई हिमालबाट तल ल्याएको थियो। अगस्ट ६ सम्ममा पाँच पर्वतारोहीका शव सैनिक हेलिकोप्टरमार्फत Skardu पुर्याइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका थिए।
ब्रोडपिक दुर्घटनालाई पछिल्लो दशककै सबैभन्दा ठूलो उच्च हिमाली दुर्घटनामध्ये एकका रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घटनामा नेपालसँगै बेलायत, चीन, अमेरिका, ओमान र पाकिस्तानका पर्वतारोहीले ज्यान गुमाएका थिए।
किलु शेर्पा नेपाली पर्वतारोहण क्षेत्रमा अनुभवी नाम थिए। उनी २०२१ मा K2 को पहिलो सफल हिउँदे आरोहण गर्ने नेपाली टोलीका सदस्यसमेत थिए। निमा शेर्पा उच्च हिमाली गाइडका रूपमा सक्रिय थिए भने ग्यालु शेर्पा पनि अनुभवी उच्च हिमाली गाइडका रूपमा परिचित थिए। ग्यालुले गत वर्ष एकै सिजनमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा तीन पटक आरोहण गरेको विवरणसमेत थिए।
उनिहरुको निधनले नेपाली पर्वतारोहण क्षेत्रले अनुभवी र साहसी पर्वतारोही गुमाएको छ। सहकर्मी तथा शुभेच्छुकहरूले उनीहरूले हिमालमा देखाएको साहस, समर्पण, मित्रता र योगदानलाई लामो समयसम्म सम्झिरहने बताएका छन्।
पर्वतारोहणका क्रममा ज्यान गुमाएका पार्थिव शरीर नेपाल फर्किएसँगै परिवार, आफन्त, सहकर्मी तथा पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया