कोलम्बियामा पछिल्ला वर्षकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय विपद्को अवस्था घोषणा गरेको छ ।
कोलम्बियाको भूगर्भीय सेवाका अनुसार सोमबार बिहान ७ बजेर ३४ मिनेटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । चोको प्रान्तको सान होसे डेल पाल्मार गाउँनजिक केन्द्रबिन्दु रहेको भूकम्प १०३ किलोमिटर गहिराइमा गएको थियो ।
भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रसम्म महसुस गरिएको थियो । सबैभन्दा बढी क्षति परेरिरा, काली, मानिजालेस, क्विब्दो, मेडेलिनलगायतका क्षेत्रमा भएको छ ।
भूकम्पमा परी ४८० भन्दा बढी मानिस घाइते भएका छन् । उद्धार तथा राहत कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
परिरा सहरमा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । त्यहाँ ६५ वटा भवन भत्किएका छन् भने १५ वटा भवनमा मानिसहरू फसेको आशंका गरिएको छ । सहरका केही क्षेत्रमा मंगलबार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको छ ।
परिराको मुख्य चोक प्लाजा बोलिभारमा एउटा भवन पूर्ण रूपमा भत्किएको दृश्य सार्वजनिक भएको छ । भवन भत्किँदा चोकभरि भग्नावशेष र धुलो फैलिएको थियो ।
परिराबाट करिब १६० किलोमिटर दक्षिणमा रहेको काली सहरमा पनि कम्तीमा ३२ वटा भवन भत्किएका छन् । मानिजालेसमा कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । चोको र भाये डेल काउका क्षेत्रमा पनि ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।
भूकम्पका कारण क्षेत्रीय विमानस्थलहरूमा समेत क्षति पुगेको छ । परिरा, मानिजालेस, क्विब्दो, आर्मेनिया, कार्तागो र बुएनाभेन्तुराका विमानस्थल प्रभावित भएका छन् ।
राजधानी बोगोटामा पनि भूकम्पको शक्तिशाली धक्का महसुस भएको थियो । त्यहाँ रुख तथा ट्राफिक बत्तीहरू हल्लिएका थिए भने केही भवनमा चिरा परेको रिपोर्ट आएको छ । यद्यपि राजधानीको पूर्वाधारमा ठूलो क्षति भएको विवरण भने आएको छैन ।
भूकम्पको धक्का छिमेकी भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस गरिएको थियो ।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार करिब १५ लाख मानिसले ७ म्याग्निच्युड आसपासको कम्पन महसुस गरेका थिए । गहिराइमा जाने भूकम्प सतह नजिकै जाने भूकम्पभन्दा सामान्यतः कम घातक हुने भए पनि यसले भवनहरूमा ठूलो क्षति पुर्याउन सक्ने वैज्ञानिकहरूको भनाइ छ ।
कोलम्बियाका राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाले राष्ट्रिय विपद्को अवस्था घोषणा गर्दै उद्धार तथा राहतका लागि विशेष अधिकार प्रयोग गर्न सकिने बताएका छन् । उनका अनुसार भूकम्पबाट १ हजार ५०० भन्दा बढी घरमा क्षति पुगेको छ ।
राष्ट्रपति पद सम्हालेको केही दिनमै नयाँ राष्ट्रपतिले ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको हो । सरकारले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको छ भने भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाइएको छ ।
भूकम्पपछि विभिन्न देशले कोलम्बियाप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको प्रस्ताव गरेका छन् । अमेरिकाले अवस्थालाई नजिकबाट नियालिरहेको र आवश्यक सहयोगका लागि तयार रहेको जनाएको छ । युरोपेली संघले कोपरनिकस भू-उपग्रह प्रणालीमार्फत उद्धार कार्यमा सहयोग गरिरहेको जनाएको छ । एल साल्भाडोरले पनि उद्धारका लागि जनशक्ति र उपकरण उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया