प्रधानमन्त्री बालेन्द्र शाहले करिब नौ घण्टाको अन्तरमा सामाजिक सञ्जालमा दुई फरक विषयका स्टाटस सार्वजनिक गरेका छन्। नौ घण्टा अगाडि उनले छोटो तर अर्थपूर्ण सन्देशमार्फत ‘नआत्तिनुहोस्’ भन्दै धैर्य गर्न आग्रह गरेका थिए भने त्यसको करिब नौ घण्टापछि राष्ट्रिय उद्योग तथा संस्थानमा भइरहेका सुधारबारे लामो विवरण सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री शाहले नौ घण्टा अगाडि लेखेका थिए, “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।”

उनको उक्त स्टाटसमा भने कुनै व्यक्ति, घटना वा विषयलाई प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन। तर पछिल्लो समय सरकारका कामकारबाही तथा राजनीतिक घटनाक्रमबारे विभिन्न चर्चा भइरहेका बेला प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो।
त्यसको करिब नौ घण्टापछि प्रधानमन्त्री शाहले अर्को लामो स्टाटस सार्वजनिक गर्दै वर्षौंदेखि बन्द रहेका, घाटामा रहेका तथा रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको बताएका छन्।
उनले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिमा सुधारका प्रयासबाट आशालाग्दा परिणाम देखिन थालेको दाबी गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। जीएमपी मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनको भनाइ छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको उनले उल्लेख गरेका छन्।
त्यस्तै, बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको र लुम मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको उनले बताएका छन्।
नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको तथा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले आम्दानी बढेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
डीडीसीमा किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको, भुक्तानी चक्र घटाइएको र दैनिक बिक्री तथा राजस्वमा वृद्धि भएको उनको दाबी छ। त्यस्तै, सिंहदरबार वैद्यखानाबाट सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले इमान्दारिता, कानुनको कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’बाट रुग्ण अवस्थामा रहेका राष्ट्रिय उद्योगलाई समेत पुनः जीवन्त बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

यसरी पहिलो स्टाटसमा ‘समय लाग्छ, नआत्तिनुहोस्’ भन्दै सन्देश दिएका शाहले त्यसको नौ घण्टापछि सरकारका काम र राष्ट्रिय उद्योगमा भइरहेका सुधारको विवरण सार्वजनिक गरेका हुन्। दोस्रो स्टाटसमा भने उनले पहिलो स्टाटसको सन्दर्भ वा कुनै व्यक्ति तथा घटनाबारे थप स्पष्ट पारेका छैनन्।

प्रतिक्रिया