राष्ट्रिय सेवा दल अर्धसैन्य संरचना होइन : कानुनमन्त्री सोबिता


कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दललाई अर्धसैन्य संरचना वा सैन्य शक्तिका रूपमा बुझ्नु गलत हुने स्पष्ट पारेकी छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री गौतमले राष्ट्रिय सेवा दल कुनै नयाँ अभ्यास नभई २०२२ सालदेखि सञ्चालनमा रहेको ऐतिहासिक कार्यक्रम भएको बताइन्।

उनले पञ्चायतकालदेखि नै राष्ट्रसेवामा समर्पित, अनुशासित र जिम्मेवार युवा तयार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गर्दै सुरुदेखि नै नेपाली सेनाले व्यवस्थापन गर्दै आएकाले यसलाई सैन्य संस्थासँग जोडेर हेरिएको हुन सक्ने बताइन्।

“यो सैन्य शक्ति हुँदै होइन। विद्यालय र माध्यमिक तह (प्लस टू) सम्मका विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा सबल बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम हो,” मन्त्री गौतमले भनिन्।

उनका अनुसार राष्ट्रिय सेवा दलअन्तर्गत विद्यार्थीलाई नैतिक शिक्षा, अनुशासन, संगीत, नृत्य, शारीरिक तन्दुरुस्ती, खेलकुद, विपद् जोखिम न्यूनीकरण तथा सांस्कृतिक संरक्षण लगायतका विषयमा तालिम प्रदान गरिन्छ।

मन्त्री गौतमले यो कार्यक्रम विशेष प्रकृतिको शिक्षा र सीपमूलक तालिम भएको उल्लेख गर्दै यसले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक दायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

हाल राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल भइरहेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ ले विद्यालय तथा कलेज तहका विद्यार्थीलाई समेटेर उनीहरूको व्यक्तित्व विकास गर्दै राष्ट्रिय हितमा परिचालन गर्न सक्ने सक्षम जनशक्ति तयार गर्ने उद्देश्य राखेको छ।