चैत ३० गतेदेखि बन्द रहेको भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय आज पुनः सञ्चालनमा आउने भएको छ। भाडा विवादका कारण समाज कल्याण परिषद्ले लगाएको ताला सरकारले नै खोल्ने निर्णय गरेपछि लामो समयदेखि अध्ययनबाट वञ्चित भएका पाठकले फेरि पुस्तकालय सेवा पाउने भएका हुन्।
समाज कल्याण परिषद्ले ताला खोलिने जानकारी दिँदै काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलाई प्रतिनिधि उपस्थित गराउन पत्राचार गरेको छ। परिषद्ले भाडा नतिरेको कारण देखाउँदै पुस्तकालयसहित अन्य व्यावसायिक स्टलहरूमा ताला लगाएको थियो। तर, सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले पुस्तकालय पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
यसअघि परिषद्ले भृकुटीमण्डप परिसरका निजी व्यवसाय, सामाजिक संस्था, सञ्चारमाध्यमका कार्यालय तथा पुस्तकालय सञ्चालन भएका गरी २० वटा स्टलमा सुरक्षाकर्मीको उपस्थितिमा ताला लगाएको थियो। परिषद्का अनुसार पुस्तकालय सञ्चालन भइरहेको स्टल नम्बर ३४ बाट १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ र अर्को स्टल नम्बर ३८ बाट १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा बक्यौता रहेको दाबी गरिएको थियो।
काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज र समाज कल्याण परिषद्बीच २०६४ असोज २१ गते भएको सम्झौताअनुसार पुस्तकालयलाई अन्य व्यवसायभन्दा फरक व्यवस्था गर्दै ७५ प्रतिशत भाडा छुट दिइएको थियो। सोही सम्झौताअनुसार स्टल नम्बर ३४ को मासिक भाडा ४ हजार ८४४ रुपैयाँ र अर्को स्टलको ७ हजार ५५५ रुपैयाँ कायम गरिएको पुस्तकालय व्यवस्थापक लिला भट्टराईले बताएकी छन्।
भट्टराईका अनुसार पुरानो सम्झौताको पुनरावलोकन नगरी परिषद्ले पुस्तकालयलाई निजी व्यवसायसरह व्यवहार गर्दै ठूलो रकमको भाडा दाबी गरेकोप्रति पुस्तकालय पक्ष असन्तुष्ट छ।
पुस्तकालयमा दातृ संस्था तथा विभिन्न व्यक्तिबाट प्राप्त करिब ४० हजार पुस्तक, पत्रपत्रिका, जर्नल र सरकारी मन्त्रालयका प्रतिवेदनहरू सुरक्षित रूपमा राखिएका छन्। दैनिक करिब २०० जना पाठक अध्ययनका लागि पुस्तकालय पुग्ने गरेका थिए।
भाडा विवाद अझै समाधान नभए पनि सार्वजनिक चासो, बौद्धिक समुदायको दबाब र सरकारको निर्णयपछि पुस्तकालय आजदेखि पुनः सञ्चालनमा आउने भएको छ।

प्रतिक्रिया