नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले लामो समयदेखि बक्यौता रकम नतिरेका ६२ वटा जिल्ला शाखालाई २१ दिनभित्र रकम अनिवार्य रूपमा केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ।
महामन्त्री ऋषिरमण खनाल ले जारी गरेको पत्रमा तोकिएको समयभित्र बक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी सोको भौचर वा प्रमाण पठाउन निर्देशन दिइएको छ।
केन्द्रीय कार्यालयका अनुसार विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन तथा समाज कल्याण परिषद्को सुझावका आधारमा यो निर्णय गरिएको हो। सम्बन्धित जिल्ला शाखाहरूमा ब्लड ब्याग, किटलगायत विभिन्न शीर्षकमा करिब २५ वर्षदेखि झण्डै २ करोड रुपैयाँ बक्यौता रहेको उल्लेख गरिएको छ।
रेडक्रसले तोकिएको समयसीमाभित्र बक्यौता रकम जम्मा नगरे प्रचलित ऐन, कानुन तथा संस्थाको विधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
लामो समयदेखि नेपाल रेडक्रस सोसाइटीभित्र आर्थिक अनियमितता र बेरुजुको विषय उठ्दै आएको अवस्थामा नयाँ नेतृत्वले आर्थिक अनुशासन कायम गर्न तथा केन्द्र र जिल्ला शाखाबीचको वित्तीय प्रणालीलाई व्यवस्थित बनाउन यो कदम चालेको केन्द्रीय कार्यालयका एक अधिकारीले बताएका छन्।
| प्रदेश | जिल्लाहरू | संख्या |
|---|---|---|
| 🟢 कोशी प्रदेश | ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, भोजपुर, सोलुखुम्बु, खोटाङ, उदयपुर | 13 |
| 🟡 मधेश प्रदेश | सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट | 8 |
| 🔵 बागमती प्रदेश | दोलखा, सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर | 10 |
| 🟠 गण्डकी प्रदेश | गोरखा, तनहुँ, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, बागलुङ | 7 |
| 🔴 लुम्बिनी प्रदेश | अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, रोल्पा, रुकुम (पश्चिम), सल्यान, प्युठान | 11 |
| 🟣 कर्णाली प्रदेश | जाजरकोट, सुर्खेत, हुम्ला | 3 |
| 🟤 सुदूरपश्चिम प्रदेश | अछाम, बझाङ, बाजुरा, कैलाली, डोटी, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर | 9 |
| ⚪ विशेष | नवलपरासी (पूर्व) | 1 |
| कुल जिल्ला | बक्यौता अवधि | अनुमानित बक्यौता | बुझाउने समयसीमा |
|---|---|---|---|
| ६२ | २५ वर्षसम्म | करिब रु. २ करोड | २१ दिन |

प्रतिक्रिया