ठुला राजनीतिक दलको बिकल्प छैनः पोखरेल

साझा प्रेस
50
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकासका लागि बलिया राजनीतिक दल आवश्यक रहेको बताएका छन् ।

मंगलबार नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ३ दाङको आयोजनामा पालिका कमिटीका नवनिर्वाचित नेताहरूलाई बधाई तथा प्रशिक्षण दिन तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले मुलुक निर्माणको लागि तीनवटा कुरा आवश्यक रहेको बताए । ‘मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक छ, यी चिज दिन सक्यो भने मात्र मुलुक विकासको गतिमा अघि बढ्न सक्दछ’, पोखरेलले भने ।

आज जो सबैभन्दा बढी गैरजिम्मेवार छ राजनीतिमा उही नै बढी चर्चामा आउने विडम्बनापूर्ण स्थिति भएको उनले जिकिर गरे । बैङ्कबाट ऋण लिएर नतिर्ने, सहकारी ठग्नेहरू आज राजनीतिको चर्चामा रहेका पोखरेलको भनाइ छ ।

सामाजिक सञ्जालमा आज सबै खराब कुरालाई मात्र प्रसय दिने गरी एउटा समूह नै लागि परेको बताउँदै महासचिव पोखरेलले सामाजिक सञ्जाल समाजका अराजकहरूले कब्जा गरेका कारण यो स्थिति आएको धारणा ब्यक्त गरे ।

महासचिव पोखरेलले अब सानातिना पार्टीबाट देश नबन्ने बताए । अब देश बनाउने हो भने सबैलाई एमाले पार्टीमा आबद्ध हुन उनको आग्रह थियो ।