३२औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल शेर्पा संघ, संघीय कार्यसमितिले शनिबार अन्तरक्रिया तथा स्वागत कार्यक्रम आयोजना गरेको छ।
दिवसलाई भव्य, व्यवस्थित र अधिकारमुखी सन्देशसहित सफल बनाउन आवश्यक तयारी, भूमिका र रणनीतिबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो। नेपाल शेर्पा संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पाका अनुसार सो अवसरमा विश्व शेर्पा संघका अध्यक्षसहित पदाधिकारीहरूलाई औपचारिक स्वागतसमेत गरिएको थियो। संघको संघीय कार्यालयमा आयोजित कार्यक्रममा सहभागीहरूले वर्तमान राजनीतिक परिवेशमा विश्व आदिवासी दिवसको महत्व अझ बढेको धारणा व्यक्त गरेका थिए।

छलफलका क्रममा दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी आदिवासी जनजातिको पहिचान, अधिकार र सम्मानका पक्षमा स्पष्ट सन्देश दिने अवसरका रूपमा मनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। साथै, आदिवासी जनजातिको पहिचान, संवैधानिक अधिकार तथा प्रथाजनित कानुनको संरक्षण र प्रभावकारी कार्यान्वयनका विषयमा पनि विस्तृत छलफल भएको नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पाले जानकारी दिनुभयो।
सहभागीहरूले संविधानसभाबाट जारी संविधानले आदिवासी जनजातिका अधिकारलाई केही हदसम्म संस्थागत गरे पनि पछिल्ला राजनीतिक घटनाक्रमका कारण ती अधिकारहरू कमजोर पारिने वा कटौती हुने जोखिमप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले प्राप्त अधिकारको संरक्षण र थप सुनिश्चितताका लागि सबै आदिवासी समुदाय एकताबद्ध हुनुपर्नेमा समेत जोड दिएका थिए।

कार्यक्रममा नेपाल शेर्पा संघका सल्लाहकार, विश्व शेर्पा संघका अध्यक्ष तथा पदाधिकारीहरू, नेपाल शेर्पा संघअन्तर्गत आबद्ध संस्थाका प्रतिनिधि, संघका पदाधिकारी एवं सदस्यहरू तथा विभिन्न किदुगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया