मधेशमा सामाजिक सद्भाव बिथोल्ने ३९ जना पक्राउ


काठमाडौं । तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

सबैभन्दा धेरै धनुषामा २१ जना पक्राउ परेका छन्। त्यसैगरी सर्लाहीमा ९, सिराहामा ५, महोत्तरीमा २, पर्सामा १ र सप्तरीमा १ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै, बिहीबार धनुषा, महोत्तरी र सिराहाबाट पक्राउ परेका २५ जनालाई आवश्यक अनुसन्धानपछि हाजिर जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ। तीमध्ये धनुषाका १२, महोत्तरीका १० र सिराहाका ३ जना रहेका थिए।