काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसले बीए, बीबीएस र बीएससी प्रथम वर्षका १,३६४ विद्यार्थीको व्यक्तिगत विवरणसहितको प्रवेशपत्र क्यूआर कोडमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ ।
क्यूआर कोड स्क्यान गर्दा विद्यार्थीको नाम, फोटो र शैक्षिक विवरणसहितका प्रवेशपत्र खुला रूपमा उपलब्ध भएपछि विद्यार्थीहरूले यसलाई गोपनीयताको उल्लंघन भन्दै आपत्ति जनाएका छन् । उनीहरूले व्यक्तिगत विवरण असुरक्षित बनेको र साइबर सुरक्षामा लापरबाही भएको बताएका छन् ।
सार्वजनिक विवरणअनुसार बीएका ५१७, बीबीएसका ७३१ र बीएससीका ११६ गरी कुल १,३६४ विद्यार्थीको प्रवेशपत्र बाहिरिएको छ ।
क्याम्पस प्रमुख जयालक्ष्मी प्रधानले विद्यार्थीलाई सहज रूपमा प्रवेशपत्र उपलब्ध गराउने उद्देश्यले क्यूआर कोड सार्वजनिक गरिएको बताउँदै गोपनीयताको विषयलाई गम्भीर रूपमा लिई आगामी दिनमा थप सावधानी अपनाइने प्रतिबद्धता जनाएकी छन् ।
यता, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले घटनाबारे सम्बन्धित क्याम्पससँग बुझेर आवश्यक प्रतिक्रिया दिने बताएका छन् ।

प्रतिक्रिया