वीरगञ्जमा निषेधाज्ञा


जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ।

निषेधाज्ञा वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्मको क्षेत्रमा लागू हुनेछ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय बासिन्दालाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै आदेश उल्लङ्घन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

पछिल्लो समय सुरक्षा संवेदनशीलता बढेपछि शान्ति–सुरक्षा कायम राख्न तथा कुनै पनि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।