प्रधानमन्त्री शाहले बोलाए सुरक्षा समितिको बैठक


राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा हालै सुनसरीमा उत्पन्न घटनाक्रमसहित देशको समग्र शान्ति सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा तथा छलफल हुने जनाइएको छ। पछिल्ला सुरक्षा चुनौती, सामाजिक सद्भाव, तथा सुरक्षा निकायबीचको समन्वयका विषयमा समेत बैठकमा विचार-विमर्श हुने अपेक्षा गरिएको छ।

नेपालको संविधानको भाग–२८ अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापति रहनेछन् भने रक्षा सचिवले सदस्य सचिवको जिम्मेवारी निर्वाह गर्छन्।

राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण तथा आधुनिकीकरणका लागि आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार तथा उपकरणसम्बन्धी नीति तर्जुमा गर्ने, राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी नीति निर्माण गर्ने र नेपाल सरकारलाई आवश्यक राय तथा सुझाव प्रदान गर्ने संवैधानिक जिम्मेवारी वहन गर्दै आएको छ।