सुनसरी घटनाबारे मन्त्रिपरिषद् मौन

औपचारिक निर्णय सार्वजनिक भएन


सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाले देशव्यापी चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त घटनासम्बन्धी कुनै औपचारिक निर्णय सार्वजनिक गरिएको छैन।

घटनापछि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति, सद्भाव र संयमताका साथ अघि बढ्न सबै पक्षलाई आह्वान गरेको थियो। त्यसअघि प्रधानमन्त्री बालेन शाहले मंगलबार राति सामाजिक सञ्जालमार्फत घटनाप्रति आफ्नो धारणा सार्वजनिक गरेका थिए।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका नियमित निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले अन्य एजेन्डाका निर्णय सुनाए पनि सुनसरी घटनाबारे कुनै जानकारी दिएनन्। पत्रकारहरूले यस विषयमा जिज्ञासा राख्दा उनले प्रतिक्रिया नदिई कार्यक्रमबाट बाहिरिएका थिए। उनका सहयोगीहरूले समय अभावको कारण देखाउँदै पत्रकार सम्मेलन छोट्याएका थिए।यता सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न सम्बन्धित सरकारी टोली घटनास्थलमा पठाइसकेको जनाएको छ। उक्त टोलीले अनुसन्धान तथा तथ्य संकलनको काम सुरु गरिसकेको छ।

घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार, घाइते तथा स्थानीयवासीले मृतकलाई शहीद घोषणा गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै आएका छन्।

यद्यपि, घटनाबारे मन्त्रिपरिषद्ले कुनै विशेष निर्णय गरेको वा पीडित पक्षका माग सम्बोधन गर्ने विषयमा सरकारको आधिकारिक धारणा सार्वजनिक नभएकाले यस विषयमा अन्योल कायमै रहेको छ।

सरकारले छानबिन प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्णय लिने अपेक्षा गरिए पनि हालसम्म त्यसबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।