:सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै प्रमुख राजनीतिक दलहरूले साझा धारणा सार्वजनिक गर्ने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठकपछि सबै दलका तर्फबाट शान्ति, सद्भाव र संयमताको पक्षमा संयुक्त अपिल जारी गरिने जानकारी दिएका छन्। बुधबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले वर्तमान परिस्थितिमा आरोप–प्रत्यारोपभन्दा सामाजिक सद्भाव जोगाउनु सबैभन्दा ठूलो प्राथमिकता भएको बताए। उनले साम्प्रदायिक प्रकृतिका गतिविधि र एक समुदायलाई अर्को समुदायविरुद्ध उक्साउने प्रयासले देश र समाज दुवैलाई क्षति पुर्याउने भएकाले सबै राजनीतिक दल एक ठाउँमा उभिएको स्पष्ट पारे।
उनले बैठक सरकारको समीक्षा गर्न नभई राजनीतिक दलहरूले साझा अवधारणा निर्माण गरी जिम्मेवार भूमिका निर्वाह गर्ने उद्देश्यले आयोजना गरिएको बताए। उनका अनुसार सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बैठकमा सहभागी हुनु राजनीतिक समन्वयको संकेत हो।
सरकारको भूमिकामाथि प्रश्न उठिरहेका बेला लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीको बचाउ गर्दै शान्ति–सुरक्षा कायम गर्ने काम सम्बन्धित निकायले गरिरहेको बताए। उनले सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेकाले घटनाको प्रारम्भिक चरणमै निष्कर्ष निकाल्न नहुने धारणा राखे। “अहिले कसले कहिले बोले, कसले ढिलो बोले भन्ने बहसभन्दा शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्नु महत्त्वपूर्ण छ,” उनले भने।
लामिछानेले सञ्चारमाध्यमलाई पनि संवेदनशील परिस्थितिलाई ध्यानमा राखेर समाचार सम्प्रेषण गर्न आग्रह गर्दै सामाजिक सद्भाव बिग्रिन नदिने जिम्मेवारी सबै पक्षको भएको बताए। उनले चाँडै सार्वजनिक हुने संयुक्त अपिलमार्फत राजनीतिक दलहरूले नागरिकलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्ने जानकारी दिए।

प्रतिक्रिया