सुनसरी घटनापछि कोशी प्रदेशमा सर्वदलीय बैठक


सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ।

प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलका अनुसार बैठक आज दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालय मा आयोजना गरिएको छ। बैठकमा सुरक्षा निकायका प्रमुख, सुनसरीका प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहनेछ।बैठकमा प्रदेशको शान्ति–सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपमा नागरिकसम्म पुर्‍याउने विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

साथै, पछिल्लो घटनापछि जनजीवनलाई सामान्य बनाउन आवश्यक रणनीति तय गरिनेछ। यसअघि मुख्यमन्त्री कार्कीले भिडियो सन्देशमार्फत आम नागरिकलाई संयमित रहन, शान्ति कायम राख्न तथा सामाजिक सद्भावलाई बलियो बनाउन आग्रह गरिसक्नुभएको छ। प्रदेश सरकारका मन्त्रीहरू र सचिवहरूले पनि अस्पताल पुगेर घाइतेहरूको उपचार अवस्थाबारे अनुगमन गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री कार्कीले घटनाको सुरुदेखि नै सुरक्षा निकायसँग निरन्तर समन्वय गर्दै शान्ति र सामाजिक सद्भाव कायम राख्न आवश्यक पहल गरिरहनुभएको छ।

आजको सर्वदलीय बैठकले राजनीतिक दलहरूको सक्रिय सहभागितामार्फत सामाजिक सद्भाव कायम राख्ने, सुरक्षा व्यवस्था थप सुदृढ बनाउने तथा प्रभावित क्षेत्रको जनजीवनलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउने विषयमा साझा प्रतिबद्धता तय गर्ने अपेक्षा गरिएको छ।