थुलुङ दुधकोशी गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गर्ने गाउँपालिकावासी नागरिकलाई लक्षित गर्दै दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष सविता राईको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले आगामी साउन २० र २१ गते काठमाडौंको सुकेधारामा एकीकृत सेवा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो। गाउँपालिका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष भोजराज कार्कीका अनुसार शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरण, व्यक्तिगत घटना दर्ता (पञ्जीकरण) सम्बन्धी सेवा तथा वडा कार्यालय र गाउँपालिकाबाट प्रवाह हुने विभिन्न प्रशासनिक सेवाहरू एकै स्थानबाट उपलब्ध गराइनेछ। यसबाट काठमाडौंमा बसोबास गरिरहेका गाउँपालिकावासी नागरिकलाई सेवा लिन गाउँसम्म पुग्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज कटेलले गत वर्ष पनि सुकेधारामै यस्तै प्रकारको एकीकृत सेवा शिविर सञ्चालन गरिएको स्मरण गर्दै यस वर्ष पनि नागरिकको सहजतालाई मध्यनजर गर्दै सोही स्थानमा शिविर आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

यसैबीच, कार्यपालिका बैठकले गाउँपालिका क्षेत्रभित्र रहेका चारवटा प्रहरी चौकीलाई विपद् उद्धार सामग्री हस्तान्तरण गर्ने निर्णयसमेत गरेको छ। प्रवक्ता कार्कीका अनुसार प्रहरी चौकीहरूलाई चेन्सो मेसिन, साबेल, गैती, गल, ह्यामर लगायत विपद् उद्धारका लागि आवश्यक सामग्री उपलब्ध गराइनेछ।

साथै प्राकृतिक विपद्का बेला तत्काल प्रयोग गर्न सकिने अन्य आवश्यक सामग्रीसमेत खरिद गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको उहाँले बताउनुभयो। गाउँपालिकाले विपद् व्यवस्थापनको पूर्वतयारीलाई थप प्रभावकारी बनाउने, उद्धार कार्यलाई छिटो र व्यवस्थित बनाउने तथा काठमाडौंमा रहेका गाउँपालिकावासी नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले यी निर्णयहरू गरिएको जनाएको छ।