सोलुखुम्बुमा उद्धार सामग्री हस्तान्तरण


जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई करिब ९ लाख ५० हजार रुपैयाँ बराबरका खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ।जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी, पहिरो, आगलागीलगायत विभिन्न विपद्का घटनामा तत्काल उद्धार टोली परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई २५ प्रकारका अत्यावश्यक खोज तथा उद्धार सामग्री प्रदान गरिएको हो।

कार्यालयले यी सामग्रीले विपद्का बेला उद्धार कार्यलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।नेपाली सेनालाई बास्केट तथा फोल्डिङ रेस्क्यु स्ट्रेचर, ३०० मिटर स्ट्याटिक रेस्क्यु रोप, रेस्क्यु हार्नेस, रेस्क्यु हेलमेट, पुलीज एण्ड रोप रेस्क्यु किट, हेड ल्याम्प, थर्मल ब्ल्याङ्केट, एसेन्डर, जुमार, चेस्ट हार्नेस, वाटर रेस्क्यु हेलमेट, वाटरप्रुफ बुट, रेस्क्यु ग्लोभ्स, रिफ्लेक्टिभ सेफ्टी भेस्ट, २२ इन्चको चेन सो, डिसेन्डर, कोदालो, बञ्चरो, साबेल, ग्याँल, फायर ब्ल्याङ्केट तथा क्लाइम्बिङ ग्लोभ्सलगायत सामग्री उपलब्ध गराइएको छ।त्यसैगरी नेपाल प्रहरीलाई पनि बास्केट तथा फोल्डिङ रेस्क्यु स्ट्रेचर, स्ट्याटिक रेस्क्यु रोप, रेस्क्यु हार्नेस, हेलमेट, पुलीज एण्ड रोप रेस्क्यु किट, हेड ल्याम्प, थर्मल ब्ल्याङ्केटका साथै थ्रो ब्याग, जुमार, चेस्ट हार्नेस, वाटर रेस्क्यु हेलमेट, वाटरप्रुफ बुट, रेस्क्यु ग्लोभ्स, रिफ्लेक्टिभ सेफ्टी भेस्ट, कोदालो, बञ्चरो, साबेल, ग्याँल र फायर ब्ल्याङ्केट हस्तान्तरण गरिएको छ।विपद् व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने सशस्त्र प्रहरी बललाई बास्केट तथा फोल्डिङ रेस्क्यु स्ट्रेचर, स्ट्याटिक रेस्क्यु रोप, रेस्क्यु हार्नेस, रेस्क्यु हेलमेट, पुलीज एण्ड रोप रेस्क्यु किट, हेड ल्याम्प, थर्मल ब्ल्याङ्केट, एसेन्डर, जुमार, फुल–बडी रेस्क्यु हार्नेस, चेस्ट हार्नेस, वाटर रेस्क्यु हेलमेट, वाटरप्रुफ बुट, रेस्क्यु ग्लोभ्स, रिफ्लेक्टिभ सेफ्टी भेस्ट, डिसेन्डर, कोदालो, बञ्चरो, साबेल, ग्याँल, फायर ब्ल्याङ्केट, क्लाइम्बिङ ग्लोभ्स तथा भिक्टिम रेस्क्यु ट्रायङ्गललगायत सामग्री उपलब्ध गराइएको छ।

जिल्ला प्रशासन कार्यालयले प्राप्त सामग्रीसँगै जिल्लामा हुन सक्ने बाढी, पहिरो, आगलागी तथा अन्य प्राकृतिक विपद्का घटनामा तीनवटै सुरक्षा निकायको खोज तथा उद्धार क्षमता थप सुदृढ हुने अपेक्षा गरेको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जिल्लामा हुन सक्ने सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायलाई २४सै घण्टा उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिनुभयो। उहाँले विपद्को समयमा सर्वसाधारण नागरिकको जिउधनको रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै उद्धार कार्यमा कुनै पनि किसिमको कमी हुन नदिन आग्रह गर्नुभयो।

साथै हस्तान्तरण गरिएका सामग्रीको सही, सुरक्षित र प्रभावकारी उपयोग गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच अझ सुदृढ समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।कार्यक्रममा सामग्री ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीले विपद्का बेला उद्धार कार्यमा खटिने प्रहरीका लागि प्राप्त सामग्री अत्यन्त उपयोगी हुने बताउनुभयो। उहाँले आधुनिक उद्धार उपकरणले जोखिमपूर्ण परिस्थितिमा खोज तथा उद्धार कार्यलाई अझ सुरक्षित, प्रभावकारी र छरितो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी थापामगरले नेपाली सेनाका जिल्लास्थित उच्च अधिकारीहरूको रोहबरमा सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिहरूलाई उद्धार सामग्री हस्तान्तरण गर्नुभएको थियो।