सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न साझा प्रतिबद्धता जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार बसेको बैठकले घटनालाई थप जटिल बन्न नदिने र सामाजिक एकता कायम राख्न सबै पक्षले सक्रिय भूमिका खेल्ने सहमति गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार बैठकले गृह मन्त्रालयद्वारा गठित पाँच सदस्यीय छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ। साथै, घटनाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न र कानुनी प्रक्रिया सहज बनाउन सबै पक्ष सहमत भएका छन्।
बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा सरोकारवालाले अफवाह र भ्रामक सूचनाबाट टाढा रहन, सामाजिक सद्भाव कायम राख्न तथा सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न स्थानीयवासीसँग आग्रह गरेका छन्।
देवानगञ्जमा आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद चर्किँदा हिंसात्मक झडप भएको थियो। झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
घटनामा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालयले देवानगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा अवस्था नियन्त्रणमा राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरिएको छ।
यसैबीच, घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ भने सरकारले घटनाको निष्पक्ष छानबिन र शान्ति–सुरक्षा कायम गर्न आवश्यक सबै कदम चालिने जनाएको छ।

प्रतिक्रिया