काठमाडौं र धादिङलाई जोड्ने देशकै पहिलो व्यवस्थित सडक सुरुङ मार्ग नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना शिलान्यास भएको करिब सात वर्षपछि सञ्चालनमा आएको हो।
नेपालका लागि जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको तथा पूर्वाधार विकास मन्त्री सुनील लम्सालको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गरिएको हो।

उद्घाटनसँगै पहिलो चरणमा आपतकालीन सेवामा प्रयोग हुने सवारी साधनलाई मात्र सुरुङ प्रयोग गर्न अनुमति दिइनेछ। त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारी साधनलाई पनि सञ्चालनको अनुमति दिइने सरकारले जनाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कार्तिक ४ गते सुरुङ मार्गको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी, मुआब्जा विवाद तथा अन्य प्राविधिक कारणले निर्माण कार्यमा ढिलाइ भएको थियो।
आयोजनाअन्तर्गत २०८० साउन २२ गते आपतकालीन (रेस्क्यु) सुरुङको ‘ब्रेकथ्रु’ सम्पन्न भएको थियो भने २०८१ असार ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मुख्य सुरुङको ‘ब्रेकथ्रु’ गरेका थिए।
मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने २.५५७ किलोमिटर लामो आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ।
सुरुङ मार्गमा पैदलयात्री, दुई पाङ्ग्रे सवारी साधन तथा डिजेल, पेट्रोल लगायतका प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई प्रवेश निषेध गरिएको छ।
सरकारले सुरुङ मार्ग प्रयोगका लागि शुल्क पनि निर्धारण गरेको छ। कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस तथा टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ। बस तथा ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ भने हेभी ट्रकका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।
यो आयोजना सुरुमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ ऋण सहायता र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्ने सम्झौता भएको थियो। निर्माण अवधिमा लागत बढेपछि जापान सरकारले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो। सुरुङ निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले सम्पन्न गरेको हो।

सुरुङ मार्ग सञ्चालनमा आएपछि नागढुंगा सडकखण्डको जाम घट्ने, यात्रा समय कम हुने तथा काठमाडौं भित्रिने–बाहिरिने यातायात थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया