जल तथा मौसम विज्ञान विभागले आज राति देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने सम्भावना छ।
यस्तै बागमती र गण्डकीका तराईका केही स्थान, कोशी तराई, मधेसका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विशेषगरी बागमती, गण्डकी तथा कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ, जसलाई भारी वर्षा मानिन्छ।
विभागले सम्भावित भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन र विभागका पछिल्ला मौसम बुलेटिन नियमित रूपमा हेर्न आग्रह गरेको छ।

प्रतिक्रिया