त्रिविको वार्षिकोत्सवमै शिक्षामन्त्रीविरुद्ध नाराबाजी


त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्।

विश्वविद्यालयका सहकुलपति तथा विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल समारोहमा सहभागी हुन पुगेलगत्तै असन्तुष्ट विद्यार्थी समूहले प्रदर्शन गरेको हो।

विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरिएको भन्दै सरकार र शिक्षामन्त्रीको विरोध गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’, ‘नेपोबेबी शिक्षामन्त्री’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै विश्वविद्यालयमा विद्यार्थी अधिकार र योग्यतामा आधारित प्रणाली लागू गर्न माग गरेका थिए।

विरोध प्रदर्शनका कारण केही समय विश्वविद्यालय परिसर तनावग्रस्त बनेपछि सुरक्षामा खटिएको नेपाल प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले प्रदर्शनमा सहभागी केही विद्यार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ।

शिक्षामन्त्री पोखरेल त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव तथा विश्वविद्यालय सभाको बैठकमा सहभागी हुन कीर्तिपुरस्थित विश्वविद्यालय परिसर पुगेका थिए।

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा स्ववियुको अवस्था, विद्यार्थी प्रतिनिधित्व तथा विश्वविद्यालय सुधारका विषयलाई लिएर विद्यार्थी संगठनहरूबीच असन्तुष्टि बढ्दै गएको छ। त्यसैको निरन्तरतास्वरूप वार्षिकोत्सवकै कार्यक्रममा पनि विद्यार्थीहरूले विरोध जनाएका हुन्।