५ लाख लिँदै गर्दा कर अधिकृत पक्राउ


कर परीक्षणका क्रममा कर दायित्व मिलाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग घुस मागेको आरोपमा आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले उनलाई ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) भइरहेका बेला कर अधिकृत पालले कर दायित्व मिलाइदिने भन्दै रकम मागेका थिए। सुरुवातमै उनले आफूभन्दा माथिका अधिकारीलाई समेत मिलाउनुपर्ने भन्दै घुस मागेको आरोप छ।

अडिटका क्रममा कार्यालयले कम्पनीमाथि कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व आउन सक्ने जनाएको थियो। थप कागजात पेस भएपछि उक्त दायित्व अझै ३० देखि ३५ लाख रुपैयाँ बढ्न सक्ने जानकारी दिइएको स्रोतको दाबी छ।

यही अवस्थालाई आधार बनाएर पालले सुरुमा १२ लाख रुपैयाँ माग्दै रकम दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेको आरोप छ। कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि अन्ततः ५ लाख रुपैयाँमा सहमति गराउने प्रयास भएको बताइएको छ।

घुस बुझ्ने योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार लामो समयसम्म प्रतिक्षा गराइएको थियो। साँझ कर अधिकृत पालले फोनमार्फत आफ्नो स्थान परिवर्तन भएको जानकारी गराउँदै बिचौलियामार्फत रकम बुझाउने प्रयास गरेको आरोप छ। अन्ततः रकम कार्यालयमै ल्याउन भनिएपछि अख्तियारको टोलीले निगरानीका बीच कार्यालय परिसरमै घुस बुझ्दै गर्दा पाललाई पक्राउ गरेको जनाएको छ।

अख्तियारका डीएसपी सरोज राईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा घुस माग्ने प्रक्रियामा अन्य व्यक्ति वा कर्मचारीको समेत संलग्नता रहेको वा नरहेको विषयमा पनि छानबिन हुने बताइएको छ।

यस घटनाले कर प्रशासनमा पारदर्शिता र सुशासनको प्रश्न फेरि एकपटक उठाएको छ। विशेषगरी कर परीक्षणको प्रक्रियामा सेवाग्राहीमाथि अनियमित दबाब सिर्जना गरी आर्थिक लाभ लिन खोजिएको आरोपले कर प्रशासनमाथिको विश्वासमाथि समेत प्रश्न खडा गरेको छ।