नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दलहरूले पुष्पलालको राजनीतिक योगदानको स्मरण गर्दै विचारगोष्ठी, श्रद्धाञ्जली सभा तथा अन्य कार्यक्रम आयोजना गरेका छन्।
विसं १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक नेता मानिन्छन्। पिता भक्तलाल श्रेष्ठ र आमा तुलसीकुमारीका माहिला पुत्र रहेका उनी सहिद गङ्गालाल श्रेष्ठका भाइ पनि हुन्।
पुष्पलालले प्रवासमा बसेर नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट मेनिफेस्टो पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। साथै, विभिन्न लेख तथा कृतिमार्फत नेपाली समाजको वर्गीय विश्लेषण गर्दै कम्युनिस्ट आन्दोलनको वैचारिक आधार निर्माणमा योगदान दिएका थिए।
विसं २००६ वैशाखमा उनले निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।
त्यसभन्दा अघि विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरी राणाशासनविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गरेका थिए।
पुष्पलालले पञ्चायती व्यवस्थाको अन्त्यका लागि नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै संयुक्त जनआन्दोलनको पक्षमा वकालत गरेका थिए। उपचारका क्रममा उनको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा निधन भएको थियो।
स्मृति दिवसका अवसरमा आज नेकपा (एमाले) काठमाडौं उपत्यका प्रदेश कमिटीले विशेष कार्यक्रम आयोजना गरेको छ। यस्तै, अन्य कम्युनिस्ट दलहरूले पनि देशका विभिन्न स्थानमा श्रद्धाञ्जली सभा, विचारगोष्ठी तथा स्मरण कार्यक्रम सञ्चालन गरिरहेका छन्।
नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेताका रूपमा पुष्पलालको योगदानलाई आज पनि कम्युनिस्ट आन्दोलनको वैचारिक मार्गदर्शनका रूपमा स्मरण गरिन्छ।

प्रतिक्रिया