जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले गत एक वर्षको अवधिमा सडक अनुशासन पालना नगर्ने १ हजार २ सय ७२ वटा सवारीसाधनलाई कारबाही गरेको छ।
ट्राफिक प्रहरीको टोलीले ती सवारीसाधनलाई कारबाही गर्दै १४ लाख ७० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो।कार्यालयका सूचना अधिकारी चन्द्र बहादुर बस्नेतका अनुसार यस अवधिमा सबैभन्दा बढी सवारीको अन्य भागमा मानिस राखेर सवारी चलाउने कसुरमा २ सय ७२ वटा सवारीसाधन कारबाहीमा परेका छन्। सो कसुरबाट २ लाख ७१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
यसैगरी, सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने १ सय ९० जना चालक कारबाहीमा परेका छन्, जसबाट ३ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै, सडकको लेन साइडमा सवारी नराख्ने १ सय ५८ सवारीसाधनलाई कारबाही गरी १ लाख ५८ हजार रुपैयाँ संकलन गरिएको छ।
अन्य कारबाहीहरू:·
- सवारीको क्षमताभन्दा बढी मालसामान वा यात्री बोक्ने ६० वटा सवारी कारबाहीमा राजस्व: १ लाख २० हजार
- मानिस वा मालसामान हद निर्धारणभन्दा बढी राख्ने १ सय ९ वटा सवारी राजस्व: ७८ हजार ५ सय
- प्रयोजन विपरीत सवारी प्रयोग गर्ने ८८ वटा सवारी राजस्व: १ लाख ७६ हजार
- अवस्था ठीक नभएका ७८ वटा सवारी राजस्व: ५३ हजार
यसबाहेक, ट्राफिक नियमका अन्य उल्लंघनहरूमा पनि प्रहरीले कडा कदम चालेको छ। खतरापूर्ण मालसामान ढुवानी गर्ने ३३ वटा, सचाअप नभएको व्यक्तिलाई सवारी चलाउन दिने २४ वटा, सिट बेल्ट वा हेलमेट नलगाई सवारी चलाउने २४ जना, मदिरा सेवन गरी सवारी चलाउने (मापसे) २३ जना, निषेधित ठाउँमा सवारी अड्याउने २३ जना, नम्बर प्लेट नराखी सवारी चलाउने १९ जना, निषेधित समय/ठाउँमा सवारी चलाउने १८ जना र पटक–पटक एउटै कसुर दोहोर्याउने १४ जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै, ट्राफिक संकेत उल्लंघन गर्ने ३ जना, तीव्र गतिमा सवारी चलाउने, सचाअप नै नलिई सवारी सञ्चालन गर्ने, सिट सुरक्षित नराख्ने, रोक्न संकेत गर्दा नरोक्ने, अरूलाई बाधा पुग्ने गरी सवारी राख्ने र हद निर्धारण गरिएका ठाउँमा सवारी चलाउने कसुरमा १–१ वटा सवारी कारबाहीमा परेका छन्।
पछिल्लो समय सोलुखुम्बुमा ट्राफिक प्रहरीको टोलीले जिल्लाभित्र ट्राफिक अनुशासन पालना नगर्ने सवारीसाधनलाई तीव्र रूपमा कारबाही गर्दै आएको छ। सडक दुर्घटना न्यूनीकरण गर्न र यातायात व्यवस्थापनलाई चुस्त बनाउन आगामी दिनमा ट्राफिक चेकिङ र कारबाहीको प्रक्रियालाई अझ सशक्त बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया