निर्माणाधीन नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीतलाई लिएर विवाद चुलिएको छ। नेपाल शिक्षक महासंघले गीतले महिला शिक्षकको मर्यादा र शिक्षण पेशाको सम्मानमा आँच पुर्याएको भन्दै तत्काल हटाउन माग गरेपछि निर्माण पक्ष आन्तरिक छलफलमा जुटेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा गीतका केही शब्द र भिडियो प्रस्तुतीकरणले महिला शिक्षकप्रति अमर्यादित सन्देश दिएको तथा समग्र शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख गरिएको छ। महासंघले गीत तत्काल बन्द गरी चलचित्रमा प्रयोग नगर्न चेतावनी दिँदै माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम ल्याइने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी निर्माता तथा सम्बन्धित कलाकारले लिनुपर्ने जनाएको छ।
महासंघको आपत्तिपछि चलचित्र निर्माण टिमले आवश्यक निर्णयका लागि बैठक बसेको स्रोतले जनाएको छ। गीत हटाउने वा परिमार्जन गर्ने विषयमा निर्माण पक्षले आन्तरिक छलफल गरिरहेको बताइएको छ।
यता, गीतका सर्जक तथा गायक दुर्गेश थापाले भने गीतका शब्दमा कुनै समस्या नरहेको दाबी गरेका छन्। उनले चलचित्रमा अभिनेत्री प्रियंका कार्कीले गणित शिक्षिकाको भूमिका निर्वाह गरेकाले सोही सन्दर्भअनुसार शब्द चयन गरिएको स्पष्ट पारे।
उनका अनुसार गीतमा प्रयोग गरिएको शब्दलाई गलत अर्थमा व्याख्या गरिएको हो। गीत विवाद सिर्जना गरेर चर्चामा ल्याउने उद्देश्य नभएको बताउँदै उनले यो केवल मनोरञ्जन र चलचित्रको प्रचारका लागि तयार गरिएको सामग्री भएको प्रतिक्रिया दिएका छन्।
यद्यपि, सामाजिक सञ्जालमा गीतका शब्दभन्दा पनि भिडियोमा शिक्षिकाको प्रस्तुतिकरण, नृत्य शैली र विद्यार्थीसँग देखाइएको दृश्यप्रति बढी आलोचना भइरहेको छ। भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय तथा प्रस्तुतीकरणलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन्।
शिक्षक संगठनको औपचारिक आपत्तिपछि चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत अब परिमार्जन हुने वा यथावत रहने भन्ने विषय निर्माण पक्षको निर्णयमा निर्भर रहने देखिएको छ।

प्रतिक्रिया