विश्वकप सेमिफाइनलमा ऐतिहासिक भिडन्त

२४ वर्षपछि आमनेसामने हुँदै इंग्ल्यान्ड र अर्जेन्टिना


विश्व फुटबल इतिहासकै सबैभन्दा चर्चित प्रतिद्वन्द्वितामध्ये एक इंग्ल्यान्ड र अर्जेन्टिना फेरि एकपटक विश्वकपको मञ्चमा आमनेसामने हुँदैछन्। यसपटकको भेट केवल प्रतिष्ठाको लडाइँ मात्र होइन, फिफा विश्वकप २०२६ को फाइनल प्रवेशका लागि निर्णायक सेमिफाइनल भिडन्त हो।

डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोलदेखि डेभिड बेकह्यामको रातो कार्ड, त्यसको चार वर्षपछि २००२ विश्वकपमा बेकह्यामले पेनाल्टीमार्फत इंग्ल्यान्डलाई दिलाएको ऐतिहासिक जितसम्म यी दुई टोलीबीचका भेटले विश्व फुटबललाई अविस्मरणीय क्षण दिएका छन्। अब २४ वर्षपछि विश्वकपमा फेरि भेट हुँदा लियोनल मेसी र ह्यारी केनको नेतृत्वमा अर्को नयाँ इतिहास लेखिने अपेक्षा गरिएको छ।

साविक विश्वविजेता अर्जेन्टिना लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ भने इंग्ल्यान्ड १९६६ यता पहिलोपटक विश्वकपको उपाधि नजिक पुग्ने अभियानमा रहेको छ। यही कारण यो सेमिफाइनललाई प्रतियोगिताकै सबैभन्दा ठूलो भिडन्तका रूपमा हेरिएको छ।

प्रभावशाली यात्रापछि सेमिफाइनलमा इंग्ल्यान्ड

इंग्ल्यान्डले समूह चरणमा क्रोएसियालाई ४–२ ले हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो। त्यसपछि घानासँग गोलरहित बराबरी खेलेको टोलीले पानामालाई २–० ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्‍यो।

नकआउटमा कंगोविरुद्ध २–१ को पुनरागमन जित निकालेको इंग्ल्यान्डले अन्तिम १६ मा सहआयोजक मेक्सिकोलाई १० खेलाडीमा सीमित रहँदै पनि ३–२ ले हरायो। क्वाटरफाइनलमा नर्वेविरुद्ध जुड बेलिङहमको दुई गोलको मद्दतमा २–१ को रोमाञ्चक जित निकाल्दै टोली पछिल्ला तीन विश्वकपमध्ये दोस्रो पटक सेमिफाइनलमा पुगेको हो।

कप्तान ह्यारी केन र जुड बेलिङहमले समान ६–६ गोल गर्दै इंग्ल्यान्डको आक्रमणलाई नेतृत्व गरेका छन्। बुकायो साका र एन्थोनी गोर्डनले समान तीन–तीन असिस्ट दिँदै टोलीको आक्रामक खेललाई थप धारिलो बनाएका छन्।

उपाधि रक्षा अभियानमा लयमा अर्जेन्टिना

साविक विजेता अर्जेन्टिनाले पनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको छ। समूह चरणको पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराउँदा कप्तान लियोनल मेसीले ह्याट्रिक गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए।

त्यसपछि अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै अर्जेन्टिना समूह विजेता बन्यो। अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको टोलीले अन्तिम १६ मा इजिप्टमाथि ३–२ को पुनरागमन जित निकाल्यो।

क्वाटरफाइनलमा स्विट्जरल्यान्डले कडा चुनौती दिए पनि अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजको गोलमा अर्जेन्टिनाले ३–१ को जित निकाल्दै लगातार दोस्रो विश्वकप सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

मेसी आठ गोलसहित गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्। टोलीका सात अन्य खेलाडीले पनि गोल गरिसकेका छन् भने आठ खेलाडीले असिस्ट दिएका छन्। क्रिस्टियन रोमेरो–लिसान्द्रो मार्टिनेजको रक्षापङ्क्ति र गोलरक्षक एमिलियानो मार्टिनेज अर्जेन्टिनाका प्रमुख बलिया पक्ष हुन्।

इतिहासले के भन्छ?

इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हालसम्म १४ अन्तर्राष्ट्रिय भेट भएका छन्। तीमध्ये इंग्ल्यान्डले ६ खेल जितेको छ भने अर्जेन्टिनाले ३ खेल आफ्नो पक्षमा पारेको छ। पाँच खेल बराबरीमा सकिएका छन्।

विश्वकपमा भने यी दुई टोली पाँच पटक आमनेसामने भएका छन्। इंग्ल्यान्डले तीन खेल जितेको छ भने अर्जेन्टिनाले दुई खेलमा सफलता पाएको छ।

सबैभन्दा चर्चित भिडन्त सन् १९८६ को क्वाटरफाइनल हो, जहाँ म्याराडोनाले ‘ह्यान्ड अफ गड’ र उत्कृष्ट एकल गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाएका थिए। सन् १९९८ को अन्तिम १६ मा बेकह्यामको रातो कार्ड र पेनाल्टी सुटआउटमा अर्जेन्टिनाको जित अर्को अविस्मरणीय अध्याय बनेको थियो। त्यसपछि सन् २००२ को समूह चरणमा बेकह्यामको पेनाल्टी गोलले इंग्ल्यान्डलाई १–० को जित दिलाएको थियो।

अब दुई दशकभन्दा बढी समयपछि यी दुई फुटबल महाशक्ति फेरि विश्वकपको मञ्चमा भिड्न लागेका छन्।

टिम अपडेट

इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलसँग पहिलो रोजाइका अधिकांश खेलाडी उपलब्ध छन्। कप्तान ह्यारी केन उत्कृष्ट लयमा छन् भने जुड बेलिङहम, बुकायो साका, एन्थोनी गोर्डन र डेक्लान राइस टोलीका मुख्य हतियार रहनेछन्।

यता अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी पनि पूर्ण शक्तिका साथ मैदान उत्रने तयारीमा छन्। लियोनल मेसी, जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र रोड्रिगो डे पलले मिडफिल्ड तथा आक्रमण सम्हाल्नेछन् भने क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज र गोलरक्षक एमिलियानो मार्टिनेज रक्षाको मुख्य आधार हुनेछन्।

नजर रहने खेलाडी

यस बहुप्रतीक्षित सेमिफाइनलमा सबैभन्दा बढी ध्यान दुई कप्तान—लियोनल मेसीह्यारी केन—माथि रहनेछ।

मेसी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधितर्फ डोर्‍याउने अभियानमा छन् भने केन इंग्ल्यान्डलाई ६० वर्षपछि विश्वकप फाइनलमा पुर्‍याउने लक्ष्यसहित मैदान उत्रनेछन्। उनीहरूसँगै जुड बेलिङहम, बुकायो साका, एन्जो फर्नान्डेज, क्रिस्टियन रोमेरो र एमिलियानो मार्टिनेजको प्रदर्शनले खेलको दिशा तय गर्न सक्छ।

सम्भावित सुरुआती ११

इंग्ल्यान्ड: जोर्डन पिकफर्ड; रीस जेम्स, एज्री कोन्सा, मार्क गेही, निको ओ’राइली; इलियट एन्डरसन, डेक्लान राइस; बुकायो साका, जुड बेलिङहम, एन्थोनी गोर्डन; ह्यारी केन।

अर्जेन्टिना: एमिलियानो मार्टिनेज; नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलस टालियाफिको; रोड्रिगो डे पल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज; लियोनल मेसी, जुलियन अल्भारेज।