नेचासल्यानले प्रशासनिक भवन उद्घाटनमा १८ लाख ५० हजार खर्चिएको खुलासा


सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले प्रशासनिक भवन उद्घाटनमा १८ लाख ५० हजार रुपैयाँ खर्च गरेको तथ्य सार्वजनिक भएको छ ।  वार्षिक बजेटमा व्यवस्था नै नगरी अन्य शिर्षकबाट रकमान्तर गरेर एउटा भवन उद्घाटन गर्न एकैदिन उक्त रकम खर्च गरेको हो ।

२०८१ चैत ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रशासनिक भवन उद्घाटन गराएको थियो । तर उक्त कार्यक्रमका लागि पालिकाले वार्षिक बजेटमा कुनै शीर्षक वा विनियोजन नराखी पछि अन्य शीर्षकबाट रकमान्तर गरी १८ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।

उक्त रकम राष्ट्रपतिको आवतजावतका लागि प्रयोग गरिएको हेलिकोप्टरको भाडा बाहेकको खर्च हो ।

नेचासल्यानको वित्तीय अनुशासन र आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँदै महालेखा परीक्षकको कार्यालयले फजुल खर्चमा मितव्ययिता अपनाउन सुझाएको छ ।  

स्थानीय सरकार सञ्चालन ऐन र सार्वजनिक वित्त व्यवस्थापनका सिद्धान्तअनुसार बजेटमा स्वीकृत नभएको शीर्षकमा खर्च गर्नु तथा विकास निर्माणका लागि विनियोजित रकम रकमान्तर गरी औपचारिक कार्यक्रममा खर्च गर्नु वित्तीय अनुशासनविपरीत हुन्छ । रकमान्तरको अधिकार भए पनि त्यो कानुनले तोकेका सीमा, औचित्य र सार्वजनिक हितको आधारमा मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

दुर्गम गाउँको विकास निर्माणमा खर्च हुनुपर्ने रकम समारोहमुखी खर्चमा मोडिएको छ ।   

१८ लाख ५० हजार रकम खर्चेर उद्घाटन गरिएको भवन र कार्यक्रमका तस्बिरहरु हेर्नुहोस्