मधेशको बजेटमाथि बहस गर्न बोलाइयो बैठक


जनकपुरधाम मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आइतबार प्रदेशसभाको बैठक बोलाइएको छ।

शनिबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाउने निर्णय गरेको हो। आर्थिक वर्ष समाप्त हुन चार दिन मात्र बाँकी रहेकाले समयमै बजेट पारित गर्न बैठक आह्वान गरिएको जनाइएको छ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले बजेट पारित हुन नसके प्रदेश आर्थिक संकटमा पर्न सक्ने भन्दै सभामुख तथा कार्यव्यवस्था परामर्श समितिका संयोजक रामआशिष यादवले बैठकमा ध्यानाकर्षण गराएको जानकारी दिए। सभामुख यादवकै प्रस्तावमा आइतबार प्रदेशसभा बैठक बोलाउने सहमति भएको उनले बताए।

विपक्षी दलसँग देखिएको विवाद समाधानका लागि आइतबार बिहान ११ बजे सर्वदलीय बैठक पनि बोलाउने निर्णय गरिएको छ।

बजेटप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले प्रदेशसभा बैठक लगातार अवरुद्ध गर्दै आएका छन्। त्यसकै कारण असार १४ गतेयता प्रदेशसभाको बैठक बस्न सकेको छैन।

मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित गठबन्धन सरकार छ। विपक्षी दलले बजेट उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने नाममा कमीशनमुखी र सत्तापक्षका मन्त्री तथा सांसदका निर्वाचन क्षेत्र केन्द्रित ढंगले ल्याइएको आरोप लगाउँदै आएका छन्।

प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोज यादवले भने बजेट अवरुद्ध पार्ने उद्देश्य नभएको बताएका छन्। विकासका प्राथमिकताभन्दा पनि अर्बौं रुपैयाँका योजनामा ‘सेटिङ’ र कमीशनमुखी कार्यक्रम समेटिएको तथा मन्त्री र सत्तारुढ दलका सांसदका निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको भन्दै त्यसको विरोध गर्नुपरेको उनले बताए।