आइतबार र सोमबार अत्यधिक वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम


काठमाडौं जल तथा मौसम विज्ञान विभागले आउँदो दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले शनिबार साँझ विशेष मौसम सूचना जारी गर्दै आइतबार र सोमबार मनसुन थप सक्रिय हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेशसहित कोशी र बागमती प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको हो।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

सक्रिय मनसुनका कारण कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो, डुबान तथा भूक्षयको जोखिम उच्च रहने विभागले जनाएको छ।

सम्भावित विपद्का कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबै सरोकारवालासँग अनुरोध गरेको छ।

विभागले विशेष गरी नदी तथा खोलाको आसपास बसोबास गर्ने, पहिरोको जोखिम भएका बस्ती, तथा राजमार्गमा यात्रा गर्ने नागरिकलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।