ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्केर अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन् ।
रोयटर्ससँगको अन्तर्वार्तामा हसिनाले आफूसँगै अवामी लिगका वरिष्ठ नेताहरूले पनि आत्मसमर्पण गर्ने बताएकी छन् । उनले स्वदेश फर्किएपछि पक्राउ पर्न वा ज्यानसमेत जान सक्ने अवस्था भए पनि आफ्नै भूमिमा फर्कन चाहेको उल्लेख गरेकी छन् ।
विद्यार्थी आन्दोलन चर्किएपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत गएकी थिइन् । आन्दोलनका क्रममा भएको हिंसामा ठूलो मानवीय क्षति भएपछि उनीविरुद्ध विभिन्न मुद्दा दर्ता भएका छन् ।
हाल भारतमा रहेकी हसिनालाई स्वदेश फिर्ता गर्न बंगलादेशले पटकपटक आग्रह गरे पनि भारतले हालसम्म कुनै निर्णय गरेको छैन ।
यसैबीच, बंगलादेशमा सम्पन्न आमनिर्वाचनपछि नयाँ सरकार गठन भइसकेको छ । पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेपछि तारिक रहमान प्रधानमन्त्री बनेका छन् । प्रतिबन्धका कारण हसिनाको अवामी लिगले भने निर्वाचनमा भाग लिन पाएको थिएन ।

प्रतिक्रिया