चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठनात्मक भविष्य र नयाँ नेतृत्वको दिशाबारे महत्वपूर्ण मानिएको पहिलो केन्द्रीय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। भरतपुर–१० स्थित गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
रास्वपाका अनुसार बालेन शाहको सम्बोधन संक्षिप्त रहनेछ भने उद्घाटन समारोहमा वक्ताहरूको संख्या पनि सीमित राखिएको छ। कार्यक्रमको सञ्चालन महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहले संयुक्त रूपमा गर्नेछन्। जिल्ला अध्यक्ष मिनी माधव खनाल र भरतपुर महानगर अध्यक्ष सीता ज्ञवालीले स्वागत मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ।
महाधिवेशनका लागि रास्वपाले राष्ट्रिय मान्यता प्राप्त सबै राजनीतिक दललाई निमन्त्रणा गरेको छ। नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। नेकपा (एमाले) ले प्रदीप ज्ञवाली र नेकपाले वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने जनाएको छ।
श्रम संस्कृति पार्टीले भने प्रतिनिधि पठाउने विषयमा कुनै औपचारिक जानकारी दिएको छैन। पार्टी अध्यक्ष हर्क साम्पाङले यसअघि निमन्त्रणा आए पनि महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका थिए।
रास्वपाले अन्य दलबाट अध्यक्ष, उपाध्यक्ष वा महामन्त्री तहका नेताहरू उपस्थित भए उनीहरूलाई मञ्चबाट शुभकामना मन्तव्य राख्न दिने व्यवस्था गरेको जनाएको छ। सोही मापदण्डअनुसार कांग्रेसका गगन थापा र राप्रपाका राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने सम्भावना रहेको छ। एमालेका प्रदीप ज्ञवाली र नेकपाका वर्षमान पुनलाई भने मञ्चमा सम्मानपूर्वक आसन ग्रहण गराइने भए पनि मन्तव्यको कार्यक्रम नरहने बताइएको छ।
रास्वपाका नेताहरूका अनुसार उद्घाटन समारोहलाई छोटो, व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको छ। पार्टी नेतृत्वबाट सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाहेक अन्य शीर्ष नेताको सम्बोधन राखिएको छैन। साथै, उद्घाटन कार्यक्रममा विदेशी प्रतिनिधिलाई पनि आमन्त्रण नगरिएको र कार्यक्रम अनावश्यक रूपमा लामो नबनाइने जनाइएको छ।

प्रतिक्रिया