सगरमाथा क्षेत्रबाट ९० हजार किलोभन्दा बढी फोहोर व्यवस्थापन

इतिहासकै ठूलो सफाइ अभियान सम्पन्न


सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले सन् २०२६ को वसन्तकालीन पर्वतारोहण सिजनमा सगरमाथा क्षेत्रबाट ९० हजार किलोग्रामभन्दा बढी फोहोर संकलन तथा व्यवस्थापन गरेको जनाएको छ। समितिका अनुसार यो अभियान संस्थाको स्थापना यताकै सबैभन्दा ठूलो र प्रभावकारी फोहोर व्यवस्थापन अभियान बनेको छ।

विश्वकै सर्वोच्च शिखर सगरमाथामा यस वर्ष पर्वतारोहीहरूको अत्यधिक चाप, प्रतिकूल मौसम तथा कठिन भौगोलिक अवस्थाबीच सञ्चालन गरिएको सफाइ अभियानअन्तर्गत सगरमाथा आधार शिविर (बेसक्याम्प) बाट मात्रै ८० हजार ५ सय ७९ किलोग्राम फोहोर संकलन गरिएको हो। संकलित फोहोरमा पुनः प्रयोग गर्न सकिने सामग्री, भान्साजन्य फोहोर, मानवजन्य फोहोर तथा अन्य मिश्रित फोहोर समावेश रहेको समितिले जनाएको छ।

संकलित फोहोरलाई आवश्यक वर्गीकरण गरी उचित व्यवस्थापनका लागि तल्लो क्षेत्रमा ढुवानी गरिएको छ। समितिका अनुसार आधार शिविरबाट संकलन गरिएको फोहोरलाई वातावरणमैत्री तरिकाले प्रशोधन तथा व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ।

त्यसैगरी, सगरमाथाको उच्च हिमाली क्षेत्रमा रहेका क्याम्प–१, क्याम्प–२, क्याम्प–३ र क्याम्प–४ बाट ९ हजार ७ सय ५० किलोग्राम फोहोर संकलन गरी सुरक्षित रूपमा तल झारिएको छ। उच्च हिमाली क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले यो उपलब्धिलाई महत्वपूर्ण मानिएको छ।

मानव मलमूत्र व्यवस्थापनका लागि प्रयोग गरिएका १ हजार ७ सय ६९ वटा ‘पुप ब्याग’ समेत संकलन गरी उचित व्यवस्थापन गरिएको समितिले जनाएको छ। पछिल्ला वर्षहरूमा सगरमाथा क्षेत्रमा बढ्दो मानव गतिविधिसँगै मानवजन्य फोहोर व्यवस्थापन ठूलो चुनौतीका रूपमा देखिँदै आएको छ।

एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाले यस वर्षको अभियानले सगरमाथा क्षेत्रको वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनका अनुसार बढ्दो पर्वतारोहण गतिविधिबाट उत्पन्न हुने वातावरणीय चुनौती न्यूनीकरण गर्न समितिले निरन्तर काम गरिरहेको छ।

“यो वर्ष पर्वतारोहण गतिविधि अत्यधिक भएको सिजन थियो। त्यस्तो अवस्थामा पनि हाम्रो टोलीले ठूलो परिमाणमा फोहोर व्यवस्थापन गर्न सफल भएको छ। सगरमाथाको स्वच्छता र पर्यावरणीय सन्तुलन कायम राख्न यो अभियान महत्वपूर्ण उपलब्धि हो,” शेर्पाले बताए।

सफाइ अभियानका क्रममा समितिको टोलीले वातावरण संरक्षणसँगै मानवीय सेवामा पनि सक्रिय भूमिका निर्वाह गरेको जनाएको छ। सगरमाथा क्षेत्रमा बेपत्ता भएका नेपाली पर्वतीय गाइड हिलारी दावा शेर्पाको खोजी तथा उद्धार अभियानमा समेत टोलीले सहयोग गरेको थियो।

समितिले अभियान सफल बनाउन योगदान पुर्‍याउने कर्मचारी, शेर्पा समुदाय, पर्वतारोहण सहयोगी टोली तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा सगरमाथा क्षेत्रलाई अझ स्वच्छ, सुरक्षित र दिगो बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

विश्वकै सर्वोच्च शिखर आसपास बढ्दो मानवीय गतिविधिका कारण वातावरणीय दबाब बढिरहेका बेला ९० हजार किलोग्रामभन्दा बढी फोहोर व्यवस्थापन गर्न सफल भएको यो अभियानलाई सगरमाथा क्षेत्रको पर्यावरण संरक्षणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। वातावरणविद्हरूले समेत हिमाली क्षेत्रमा दिगो पर्यटन र जिम्मेवार पर्वतारोहण प्रवर्द्धन गर्न यस्ता अभियानको निरन्तरता आवश्यक रहेको बताएका छन्।