सुदन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै सपथ ग्रहण


बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको सपथ ग्रहण आज अपराह्न ३ बजेका लागि तय गरिएको छ।

यसका लागि राष्ट्रपति कार्यालयमा आवश्यक पत्राचारसमेत गरिसकिएको बताइएको छ। सपथ ग्रहणसँगै गुरुङले पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि सम्पत्ति तथा अन्य विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि लागेको आरोपबारे छानबिन गर्न विशेष समिति गठन गरेको थियो।

छानबिन समितिले आफ्नो प्रतिवेदनमार्फत गुरुङलाई आरोपबाट सफाइ दिँदै ‘क्लिन चिट’ दिएको थियो। सोही प्रतिवेदनका आधारमा सरकार उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्काउने निर्णयमा पुगेको हो।

गुरुङको पुनर्नियुक्तिसँगै सरकारको निर्णय र छानबिन प्रतिवेदनबारे राजनीतिक वृत्तमा नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ। विपक्षी दलहरूले यस विषयमा कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने चासोसमेत बढेको छ।

सपथ ग्रहणपछि गुरुङले गृह मन्त्रालयका अपूरा कामलाई निरन्तरता दिने र सुरक्षा तथा प्रशासनिक सुधारका कार्यक्रमलाई अघि बढाउने अपेक्षा गरिएको छ।