लामो समयदेखि भुक्तानी अभावका कारण समस्यामा परेको स्वास्थ्य बिमा कार्यक्रम क्रमशः सहज बन्दै गएको छ। सरकारले पछिल्लो हप्तामात्रै स्वास्थ्य बिमाबापत एक अर्ब तीन करोड रुपैयाँ विभिन्न स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ।
स्वास्थ्य बिमा बोर्डका अनुसार उक्त रकम १५५ सरकारी, २५ सामुदायिक र ३७ निजी अस्पताललाई उपलब्ध गराइएको छ। अघिल्लो आर्थिक वर्षदेखि बाँकी रहेको बक्यौता रकमसमेत समेटेर सरकारले चरणबद्ध रूपमा भुक्तानी गर्न थालेपछि स्वास्थ्य बिमा कार्यक्रमप्रति देखिएको अन्योल कम हुँदै गएको छ।
स्वास्थ्य बिमा बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन शाहका अनुसार केही समयअघि सरकारी अस्पतालमा उपचार गराउने बिरामीको बिमा रकम मात्र भुक्तानी गरिँदै आएको थियो। तर यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराएका सेवाग्राहीको दाबी रकमसमेत भुक्तानी गरिएको छ।
भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बिमा कार्यक्रमको दिगोपनाबारे प्रश्न उठिरहेका बेला सरकारले आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै बिमा कार्यक्रमलाई स्रोतको दायराभित्र सञ्चालन गर्ने, अस्पतालको सेवा, स्वास्थ्य परीक्षण तथा सामग्री खरिद प्रक्रियामा कडा अनुगमन गर्ने तयारी पनि गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमा जस्तो जनमुखी र कल्याणकारी कार्यक्रमलाई कुनै पनि हालतमा प्रभावित हुन नदिने सरकारको प्रतिबद्धता दोहोर्याइन्। उनले हालसम्मको बक्यौता रकम क्रमशः भुक्तानी गरिँदै जाने र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कार्यक्रमलाई थप प्रभावकारी निगरानी तथा नियमनको दायरामा ल्याइने बताइन्।

प्रतिक्रिया