एभरेष्ट र बुद्धको सन्देश जोड्ने पार्क उद्घाटन अक्टोबरमा


सोलुखुम्बु र ओखलढुंगा जिल्लाको सिमानामा समुद्री सतहबाट करिब १० हजार २०० फिटको उचाइमा ‘एभरेष्ट बुद्ध भ्यू पार्क’ निर्माण तथा उद्घाटनको तयारी गरिएको छ।

पिके पीक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त पार्कको उद्घाटन आगामी अक्टोबर २८ देखि ३१, २०२६ सम्म गरिने जनाइएको छ।

परियोजनाका अभियान्ता एसी शेर्पाका अनुसार पार्कले सोलुखुम्बु क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य तथा धार्मिक–सांस्कृतिक महत्वलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पार्कमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूको नाम स्थायी रूपमा समावेश गरिने व्यवस्था समेत गरिनेछ। पार्क निर्माणलाई सफल बनाउन विभिन्न पूर्वाधार विकासका लागि प्रायोजन (स्पोन्सरशिप) आह्वान गरिएको छ।

योजना अन्तर्गत आगन्तुकहरूका लागि २५ वटा विश्राम बेन्च निर्माण गरिनेछ, जसका लागि प्रति बेन्च ५५ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। त्यसैगरी, २० भन्दा बढी सवारी साधन अट्ने पार्किङ क्षेत्र निर्माणका लागि ८ लाख रुपैयाँ, बगैंचा तथा संरचनात्मक ल्यान्डस्केप विकासका लागि १७ लाख रुपैयाँ, हेलिप्याड निर्माणका लागि ३ लाख रुपैयाँ तथा महिला र पुरुष शौचालय निर्माणका लागि १० लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ।

अभियान्ता शेर्पाले परियोजनामा सहयोग गर्न इच्छुक व्यक्ति, व्यवसायी तथा संघसंस्थालाई सम्पर्क गरी योगदान गर्न आग्रह गरेका छन्। उनले यस अभियानले स्थानीय पर्यटन, रोजगारी तथा क्षेत्रीय विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

‘एभरेष्ट बुद्ध भ्यू पार्क’ निर्माणपछि पिके पीक क्षेत्रलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।