संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा सभामुख डोलप्रसाद (डीपी) आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तावमाथि सांसदहरूले बजेटका विभिन्न पक्षबारे धारणा राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
तर सदनको नियमित कारबाही सञ्चालन हुने विषयमा अझै अन्योल कायमै छ। नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन्।
यस विषयमा सत्तापक्ष र विपक्षी दलबीच सहमति जुट्न नसकेकाले आजको बैठक पनि प्रभावित हुन सक्ने सम्भावना रहेको छ। दलहरूबीच सहमतिको प्रयास जारी रहे पनि समाचार तयार पार्दासम्म कुनै निष्कर्ष निस्किएको छैन।
यसबीच सरकार भने बजेटमाथिको छलफल अघि बढाउने तयारीमा रहेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि त्यसमाथि संसद्मा हुने छलफललाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया