लगातार दोस्रो पटक आईपीएल च्याम्पियन बन्यो आरसीबी


रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले आईपीएल २०२६ को उपाधि जित्दै लगातार दोस्रो वर्ष च्याम्पियन बन्न सफल भएको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै आरसीबीले उपाधि रक्षा गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। गुजरातका लागि वासिङ्टन सुन्दरले ३७ बलमा अविजित ५० रनको महत्वपूर्ण इनिङ्स खेले। यद्यपि कप्तान शुभमन गिल १० रन र साई सुदर्शन १२ रनमै आउट भएपछि टोलीले ठूलो स्कोर बनाउन सकेन।

गुजरातका लागि निशान्त सिन्धुले २०, जोस बटलरले १९ तथा अर्शद खानले १५ रनको योगदान दिए। आरसीबीका बलर रसिख सलाम डारले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। जोश हेजलउड र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए भने क्रुणाल पाण्ड्याले १ विकेट हात पारे।

१५६ रनको लक्ष्य पछ्याएको आरसीबीले आक्रामक सुरुआत गर्यो। वेंकटेश अय्यर र विराट कोहलीले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। अय्यर १६ बलमा ३२ रन बनाएर आउट भए।

देवदत्त पडिक्कल, कप्तान रजत पाटीदार र क्रुणाल पाण्ड्या सस्तैमा आउट भएपछि आरसीबी केही दबाबमा परेको थियो। तर विराट कोहलीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई जिततर्फ डोर्याए। उनले टिम डेभिडसँग चौथो विकेटका लागि ४१ रनको महत्वपूर्ण साझेदारी गरे।

कोहलीले २५ बलमै अर्धशतक पूरा गर्दै आईपीएल करियरकै सबैभन्दा छिटो फिफ्टी बनाए। उनले ४२ बलमा ७५ रनको अविजित इनिङ्स खेले, जसमा ९ चौका र ३ छक्का समावेश थिए। १८औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले आरसीबीलाई ऐतिहासिक जित दिलाए। जितेश शर्माले ११ रनमा अविजित रहँदै कोहलीलाई साथ दिए।

आरसीबीले १८ ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाउँदै उपाधि आफ्नो नाममा गर्यो।

यससँगै आरसीबीले २०२५ मा जितेको पहिलो आईपीएल उपाधिपछि २०२६ मा पनि ट्रफी जित्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने उपलब्धि हासिल गरेको छ। पाँचौँ पटक आईपीएल फाइनल खेलेको आरसीबीले पछिल्ला दुई संस्करणमा लगातार उपाधि जितेर प्रतियोगितामा आफ्नो प्रभुत्व स्थापित गरेको छ।