बजेट आज सार्वजनिक हुँदै

अर्थमन्त्री वाग्लेले दिउँसो ४ बजे संसदमा प्रस्तुत गर्ने


आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते (गणतन्त्र दिवस) का दिन बजेट प्रस्तुत गर्ने संवैधानिक प्रचलनअनुसार सरकारले आज बजेट ल्याउन लागेको हो । आमनिर्वाचन र सरकार गठनपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट अर्थमन्त्री बनेका डा. वाग्लेको यो पहिलो बजेट भाषण हो ।

बजेट निर्माणका मुख्य आधारहरू

अर्थ मन्त्रालयका अनुसार यसपटकको बजेट निर्माण गर्दा परम्परागत परिपाटीभन्दा केही फरक र नीतिगत सुधारलाई प्राथमिकता दिइएको छ। बजेटका मुख्य आधारहरू यसप्रकार रहेका छन्:

पार्टीको निर्वाचन वाचापत्र: रास्वपाले निर्वाचनका समयमा जनतामाझ राखेका मुख्य आर्थिक एजेन्डाहरू।

१०० बुँदे शासकीय सुधार कार्य योजना: सरकार गठन भएपश्चात् सार्वजनिक गरिएको शासकीय तथा प्रशासनिक सुधारको मार्गचित्र।

विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्त: सदनमा यसअघि नै प्रस्तुत भई छलफल गरिएका बजेटका सिद्धान्त र प्राथमिकताहरू।

१८ खर्ब ९० अर्बको सिलिङ: थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ (सीमा) तोकेको थियो। विगतका बजेटहरू कार्यान्वयनमा देखिएका जटिलता र कमजोरीहरूलाई सुधार्दै यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य मन्त्रालयले राखेको छ।

कमजोर राजस्व संकलन र सुस्त आर्थिक गतिविधिबीच आउन लागेको यो बजेटले फजुल खर्च कटौती गर्ने र नागरिकका मुख्य चासोहरूलाई सम्बोधन गर्दै मुलुकको अर्थतन्त्रलाई सही दिशा दिने अपेक्षा गरिएको छ। आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेलत्तै अर्थमन्त्री वाग्लेले सदनमा बजेट वक्तव्य वाचन गर्नेछन्।