
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ। दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएका छन्।
गणतन्त्र दिवसको मुख्य समारोह काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा आयोजना हुँदैछ। बिहान नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको थियो। समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ। कार्यक्रममा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
नेपालमा गणतन्त्र स्थापना दशकौँ लामो राजनीतिक संघर्ष, जनआन्दोलन, सशस्त्र विद्रोह र जनताको बलिदानपछि सम्भव भएको राजनीतिक परिवर्तन हो। २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।
वि.सं २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि राजनीतिक दलहरू र तत्कालीन विद्रोही नेकपा माओवादीबीच सहकार्यको वातावरण बनेको थियो। त्यसपछि भएको १२ बुँदे समझदारीले आन्दोलनलाई निर्णायक मोडमा पुर्याएको मानिन्छ।
२०६२/०६३ को जनआन्दोलनमा लाखौँ नागरिक सडकमा उत्रिएपछि तत्कालीन संसद् पुनःस्थापना भएको थियो। पुनःस्थापित संसद्ले राजसंस्थाको अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचन गर्ने मार्ग तय गरेको थियो।
त्यसैको परिणामस्वरूप २०६४ मा संविधानसभा निर्वाचन सम्पन्न भयो र संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र घोषणा गरेको थियो।

प्रतिक्रिया