कान्छा आरोही मिलनको ऐतिहासिक सफलता

एकै सिजनमा दुईपटक सगरमाथा आरोहण


खालिङ राई समुदायका कान्छा हिमाल आरोही मिलन राईले विश्वको सर्वोच्च शिखर सगरमाथामा किरात खालिङ राई उत्थान संघको झण्डा फहराएर नयाँ इतिहास रचेका छन् ।

यस वर्षको हिमाल आरोहण सिजनमा उनले एकै सिजनमा दुईपटक सगरमाथाको सफल आरोहण गर्दै समुदायलाई गौरवान्वित बनाएका हुन् । मिलन राईले मे २१ तारिख बिहान ३ बजे सगरमाथाको चुचुरोमा पाइला राख्दै किरात खालिङ राई उत्थान संघको झण्डा फहराएका थिए । उनले आफू पनि खालिङ राई समुदायबाट भएकाले आफ्नो समुदायको पहिचान र गौरवलाई विश्वको सर्वोच्च शिखरसम्म पुर्‍याउने उद्देश्यले संस्थाको झण्डा बोकेको बताएका छन् ।

यससँगै उनले आफ्नो तेस्रो सफल सगरमाथा आरोहण समेत पूरा गरेका छन् । मे २७ बिहान ७:४० बजे उनले पुनः सगरमाथाको सफल आरोहण गरेका हुन् । यसपटकको आरोहण यात्रालाई उनले “Everest and Lhotse combo climbing journey” को रूपमा अघि बढाएका थिए । आयरल्याण्डको टोलीलाई सफलतापूर्वक गाइड गरिसकेपछि थप चुनौतीपूर्ण यात्रा गर्ने सोचका साथ उनी पुनः सगरमाथा र ल्होत्से अभियानमा निस्किएका थिए ।

मे २५ मा उनी फेरि आधार शिविरबाट क्याम्प १, २, ३ र ४ हुँदै माथिल्लो क्षेत्रमा पुगेका थिए । मे २७ लाई लक्षित गरी बनाइएको शिखर यात्रा योजना सफल भएको उनले बताएका छन् । तर, यस वर्षको खराब मौसम र खुम्बु आइसफल क्षेत्रमा रहेका विशाल बरफका सेराक (Ice Seracs) का कारण सम्पूर्ण आरोहण तालिका प्रभावित भएको थियो । यसले आरोहण मार्ग खुलाउन र टोलीहरूको आवतजावतमा ढिलाइ भएको थियो । यही कारण सगरमाथा आरोहणको अन्तिम ‘समिट विन्डो’ मे २९ अघि मात्रै उपलब्ध भएको उनले उल्लेख गरेका छन् ।

ल्होत्से आरोहणको योजना भने समय अभावका कारण अर्को वर्षका लागि स्थगित गरिएको उनले जानकारी दिएका छन् ।

मिलन राई किरात खालिङ राई उत्थान संघको विद्यार्थी विभागका सह–सचिव समेत हुन् । सन् २०२३ देखि व्यावसायिक हिमाल आरोहण सुरु गरेका उनले कम उमेरमै सगरमाथासहित मेरा पिक, हिमलुङ हिमाल, आमाडब्लम, आइसल्याण्ड पिक लगायतका हिमालहरूको सफल आरोहण गरिसकेका छन् ।

यता, किरात खालिङ राई उत्थान संघले पनि आफ्नो संस्थाको झण्डा पहिलोपटक सगरमाथाको शिखरमा पुगेकोमा गर्व व्यक्त गरेको छ । संघका अध्यक्ष बलबहादुर राईले समुदायका कान्छा आरोही मिलन राईले संस्थाको पहिचानलाई विश्वको सर्वोच्च शिखरसम्म पुर्‍याएकोमा खुसी व्यक्त गरे । “हाम्रो समुदायका सबैभन्दा कान्छा आरोही मिलन राईले संस्थाको झण्डा चोमोलुङ्माको शिखरमा पुर्‍याएर फहराउनुभयो । यो हाम्रो लागि अत्यन्त गौरवको विषय हो,” अध्यक्ष राईले भने, “तीन चुला, चिन्डो र धनुकाँडको प्रतीक रहेको हाम्रो झण्डा सगरमाथाको शिखरमा फहराउँदा सम्पूर्ण समुदाय गर्वले उत्साहित भएको छ ।”

मिलन राईको यो उपलब्धिलाई खालिङ राई समुदायले मात्र नभई नेपाली हिमाल आरोहण क्षेत्रले समेत प्रेरणादायी सफलताको रूपमा हेरेको छ ।